फेरि जासुसकै पोल्टामा पुग्यो नेपाल भारत सम्बन्ध

डिसी नेपाल
६ कार्तिक २०७७ ११:३७

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुसँग अन्तरंग छलफल गरी भारतीय जासुसी संस्था रिसर्च एण्ड एनालिसिस विङ (रअ) का प्रमुख सामन्तप्रसाद गोयल भारत फर्किएका छन्। उनी बिहीबार विहान  भारतीय सेनाको विशेष विमानबाट फर्किएका हुन्।

उनको भ्रमणपछि प्रधानमन्त्री ओली पक्षले नेपाल र भारतबीच थप वार्ताहरु अघि बढ्ने दावी शुरु गरिसकेको छ। समाचारअनुसार, भारतीय सेनापति मनोज मुकुन्द नरभनेको केही दिनपछि नै हुन लागेको नेपालको औपचारिक भ्रमणको लगत्तैपछि नेपाल र भारतबीचका परराष्ट्र सचिव र त्यसपछि मन्त्रीस्तरमा वार्ता गर्ने गरी प्रधानमन्त्री ओलीसँग भारतीय जासुस प्रमुख गोयलको कुराकानी भएको चर्चा पनि शुरु भएको छ।

नेपालको गणतान्त्रिक संविधान लागू हुँदा र त्यसपछिका अनेकौं राजनीतिक घटनाक्रमहरुमा भारतीय जासुसहरुको एकपछि अर्को असफलताका कारण नेपाल र भारतका बीचको सम्बन्ध निकै तिक्तताको अवस्थासम्म पुगेको छ। प्रधानमन्त्री केपी ओलीले आफू पहिलोपल्ट प्रधानमन्त्री हुँदा र त्यसपछि लगातार भारतविरोधी छवि बनाएर नेपाल र नेपालीहरुको भारतविरोधी भावना जित्न सफल हुँदै पनि आएका छन्।

भारतीय पक्षले यो भ्रमण नेपालका प्रधानमन्त्री केपी ओलीकै पहलमा भएको सन्देश नेपालका अरु राजनीतिक दलहरुलाई दिएको कुराले पनि अब फेरि नेपालको आन्तरिक मामलामा भारतीय जासुसहरुको बोलवाला बढ्ने सन्देश प्रवाह भएको छ। नाकाबन्दीताका उत्पन्न संवादहीनताको अवस्थामा तत्कालीन नेपाली र भारतीय सैनिक नेतृत्वले सैनिक कुटनीतिका माध्यमबाट नाकाबन्दी फुकाउने काम गरेको थियो।

उनले कुनै कर्मचारीतन्त्र वा जासुसहरुसँग होइन सिधै राजनीतिक तहमा मात्र भारतसँग दुईपक्षीय कुराकानी हुनसक्ने बताउँदै आएका पनि थिए। तर, आफ्नो मिचिएको भूमि समेटेर ओली नेतृत्वको सरकारले नै नयाँ नक्सा जारी गरिसकेपछि भारतले राजनीतिक तहमात्र होइन कुटनीतिक तहको उच्च नेतृत्वले ओली सरकारसँग कुरा गर्न चाहेन।

यस्तो अवस्थामा भारतलाई चिढ्याइराख्न उचित नठानेर हुनसक्छ सायद ओलीले भारतीय गुप्तचर संस्था रअ का प्रमुख गोयललाई बुधबार राति सवा ९ बजेदेखि अवेरसम्मै बालुवाटारमा रातो कार्पेट बिच्छ्याइदिए।

कहिले र कुन हदसम्म भारतसँग पौठेजोरी खोजेर मुलुकलाई भारतीय हस्तक्षेप मुक्त राख्न सकिएला? भन्ने प्रश्नको सरल उत्तर आउने गरी प्रधानमन्त्री ओलीले राजनीतिक तह, कुटनीतिक तह नसक्दा जासुस नै सही स्वागत गरौं भन्ने नीति तय गरेको टिप्पणी हुन थालेको छ।

अर्थात् भारतले ओलीलाई गलाएकोजस्तो सन्देश दिन सफल भएको छ र फेरि दुई देशको सम्बन्ध भारतीय जासुसकै पोल्टामा पुगेको छ। भारतीय पक्षले यो भ्रमण नेपालका प्रधानमन्त्री केपी ओलीकै पहलमा भएको सन्देश नेपालका अरु राजनीतिक दलहरुलाई दिएको कुराले पनि अब फेरि नेपालको आन्तरिक मामलामा भारतीय जासुसहरुको बोलवाला बढ्ने सन्देश प्रवाह भएको छ। नाकाबन्दीताका उत्पन्न संवादहीनताको अवस्थामा तत्कालीन नेपाली र भारतीय सैनिक नेतृत्वले सैनिक कुटनीतिका माध्यमबाट नाकाबन्दी फुकाउने काम गरेको थियो।

जासुृसबारे ओली दाहाल सम्बाद

रअ प्रमुख गोयल काठमाडौं आइसकेको जानकारी पाएपछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरी सो भ्रमणबारे चासो राखेका थिए।

प्रचण्डनिकटस्थ स्रोतका अनुसार, ओलीले आफूले जासुसको भ्रमणबारे थाहै नपाएकोजस्तो गरी प्रचण्डसँग कुरा गरेका थिए। यो कुराले प्रचण्डलाई ओलीप्रति थप आशंका बढेको छ।

भित्रभित्र केही पाक्दै थियो

गोयलको भ्रमणले एक्कासी ठूलो हलचल ल्याएको जस्तो देखिए पनि ओलीले भारतलाई कुल डाउन गराउने काममा सहयोग गर्न केही समयअघिदेखि नै सम्पर्कसूत्रहरुको परिचालन गरेको बताइन्छ।

भारतीयहरुकै आग्रहमा ओलीले केही समयअघि संयुक्त राष्ट्रसंघको महासभामा नेपाल र भारतका बीचको चर्कँदो सीमा विवादबारे एकशब्द पनि उच्चारण गरेनन्। ओलीले भारतसँग सीमा समस्या बल्झेको कुरा सो महासभामा बोलिदिएको भए भारतलाई अन्तर्राष्ट्रिय मञ्चमा निकै अप्ठेरो पर्ने थियो त्यसैले भारत ओलीबाट सो बोली नआउने गरी व्यबस्था गर्न चाहन्थ्यो।

र, चाहनाअनुसार नै दुई देशको मामला भाषणमै सही किन अन्तर्राष्ट्रिय मन्चमा बोल्नु भन्नेमा ओलीलाई फकाउन भारत सफल भयो। त्यसो त केही दिनअघिमात्र नेपालका लागि भारतीय राजदूतलाई राति नौ बजे बालुवाटारमा बोलाई ओलीले लामो कुराकानी गरेर गोयलको भ्रमणबारे छलफलसमेत गरेका थिए।

कालापानी सिमानाकाे मुद्दामा टिक्न नसक्ने अवस्थामा सरकार पुग्याे भने प्रधानमन्त्री ओलीले विगतदेखि राख्दै आएको  राष्ट्रवादी अडान एउटा राजनीति छलकाे रूपमा मात्रै प्रमाणित हुनेछ। 

भारतीय जासुस गोयलको अर्को सफलता आगामी सचिव र मन्त्रीस्तरीय वार्ताका क्रममा थप स्पष्ट हुँदै जाने दावी स्रोतको छ। जसअनुसार, ती वार्ताका क्रममा कालापानी सीमासम्बन्धी वर्तमान विवादको विषय नेपालले गम्भीर हिसावले नउठाउने र सामान्यरुपमा सो कुरालाई ‘स्थापित दुईपक्षीय संयन्त्रहरुमार्फत छलफल गर्दै टुंग्याउने’ माइन्युट गरी फासफुस पार्ने भारतीय योजनाअनुसार नै दुईपक्षीय कुटनैतिक वार्ताहरुको ढोका खोल्ने गोयलको योजना पनि बालुवाटारमा प्रस्तुत भएको छ।

चिनियाँहरुले दक्षिण एशियामाथि प्रभुत्व थप्दै गएको र चीनका कारण भारतको राष्टिय सुरक्षामा खतरा रहेको अवस्था देखाएर कालापानीबाट भारतीय सेना हटाउन नसकिने तर्क भारतीयपक्षले प्रस्तुत गर्दै आएकामात्र होइन कालापानीमा भारतीय उपस्थित अत्यन्त मजवुत पनि बनाएका छन्।

क्षेत्रीय शक्ति सन्तुलनका हिसावले भारत एशियामै अप्ठेरो अवस्थामा पुगेको छ। सबै छिमेकी देशहरुसँग सम्बन्ध बिग्रेको अवस्थामा नेपालको कालापानी छोड्दा चीनसँग भारतको हार भएको ठानिने गरी भारतले परिभाषा दिने गरेको र चीन र भारतको विवादका सन्दर्भमा बीचमा नपर्न नेपाललाई अग्रह गरेकोजस्ता कुराहरुले पनि कालापनीको नेपाली भूमिबाट भारतलाई फिर्ता पठाउन ओली सरकारको पहल अपर्याप्त रहेको बुझ्न कठिन छैन।

कालापानी सिमानाकाे मुद्दामा टिक्न नसक्ने अवस्थामा सरकार पुग्याे भने प्रधानमन्त्री ओलीले विगतदेखि राख्दै आएको  राष्ट्रवादी अडान एउटा राजनीति छलकाे रूपमा मात्रै प्रमाणित हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *