चाडपर्व सुरुभएसँगै बढ्न थाल्यो आयात

डिसी नेपाल
६ कार्तिक २०७७ १३:०७

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण घटेको आयात चाडपर्व सुरु भएसँगै बढ्न थालेको छ। नेपालीहरुको महान पर्व दशैं, तिहार, छठलगायतका पर्व सुरु भएसँगै व्यवसाय बढ्ने अपेक्षामा लामो समयदेखि सुस्ताएको आयात फेरि बढ्न थालेको हो।

भन्सार विभागको तथ्यांक अनुसार असोज महिनामा एक खर्ब १३ अर्ब रुपैयाँ बराबरको सामान आयात भएको छ। चालु आर्थिक वर्षको साउनमा ८५ अर्ब र भदौमा ९३ अर्ब बराबरको सामग्री आयात भएको थियो।

आर्थिक वर्षको तीन महिना अवधिलाई तुलना गर्दा भने आयात घटेको छ। विभागका अनुसार आर्थिक वर्ष २०७६/०७७ को पहिलो तीन महिना (साउन–असोज) मा ३ खर्ब ३४ अर्ब ९४ करोड रुपैयाँ बराबरको आयात भएकोमा चालु आवमा भने २ खर्ब ९२ अर्ब २६ करोड बराबरको मात्र आयात भएको छ।

देशमा सबैभन्दा बढि आयात हुने वस्तु पेट्रोलियम पदार्थ, सवारी साधनको आयात घटेपछि समग्र आयात घटेको हाे । असोजमा खाद्यान्न, लत्ताकपडा, सवारी साधन लगायतका वस्तुहरुको आयातमा वृद्धि भएको विभागले जनाएको छ।

आयात कम भएपछि व्यापार घाटा पनि १५ प्रतिशतले घटेको छ । असोजमा दुई खर्ब ६१ अर्ब २२ करोड व्यापारघाटा रहेको विभागको तथ्यांक छ । गत बर्ष तीन महिनाको अवधिमा व्यापारघाटा ३ खर्ब ७७ अर्ब रुपैयाँ रहेको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *