आइपिएलमा युवाको दबदबाः दिल्लीका बलरको इकोनोमी उत्कृष्ट, चेन्नइको सबैभन्दा खराब
काठमाडौं। इण्डियन प्रिमियर लिगमा ४० खेल सकिँदा दिल्ली क्यापिटल्स अंक तालिकाको शीर्षमा छ । चेन्नइ सुपर किंग्स तालिकाको अन्तिममा छ । प्रतियोगिता सुरु हुनुभन्दा पहिले ८ पटक फाइनल खेलेको चेन्नइको यस्तो स्थिति होला भन्ने कसैले कल्पना गरेका थिएनन् । दिल्लीको नेतृत्व २६ वर्षका श्रेयस अय्यरको हातमा छ । १० खेलमा ३३५ रन बनाएर अय्यर स्वयं सबेभन्दा धेरै रन बनाउने ब्याट्सम्यानको सूचीमा छैटौं स्थानमा छन् ।
बलिङतर्फ दिल्लीका २५ वर्षका कागिसो रबाडाले २१ विकेट लिइसकेका छन् । टिमका प्रमुख तीन बलरको कुरा गर्दा दिल्लीका तीनै जना प्रमुख बलरले ८ भन्दा कमको इकोनोमीमा रन दिएका छन् । यी तीनै जना बलरको उमेर ३० वर्षभन्दा कम छ । अर्कोतर्फ चेन्नइका तीनमध्ये दुई प्रमुख बलरको उमेर ३० वर्षभन्दा बढी छ र उनीहरुको इकोनोमी पनि ९ भन्दा बढी छ । दिल्लीका लागि शिखर धवन, शिमरन हेटमेयर, मार्कुस स्टोइनिस र पृथ्वी शाले १४० भन्दा बढीको स्ट्राइक रेटमा रन बनाएका छन् । चेन्नइका भने फाफ डु प्लेसीसले मात्रै १४० भन्दा माथिको स्ट्राइक रेटमा रन बनाउन सकेका छन् ।
चेन्नइको प्लेइङ ११ मा शार्दुल ठाकुर (२९), दीपक चहर (२८) र करन शर्मा (२२) मात्रै ३० वर्षभन्दा कम उमेरका खेलाडीहुन् । अन्य ८ जना ३० वर्षभन्दा माथिका छन् । टिमसँग लगातार १४० भन्दा धेरैको गतिमा बलिङ गर्न सक्ने पेस बलरको पनि कमी छ । सबैभन्दा धेरै विकेट लिने १० बलरमा चेन्नइका कुनै पनि बलर छैनन् । अहिलेसम्म प्रमुख ब्याट्सम्यानमा फाफ डु प्लेसीसको मात्रै १४० भन्दा माथिको स्ट्राइक रेट छ ।
Facebook Comment