नेपालको एक निजी कम्पनीले २० लाख डोज कोरोना भ्याक्सिन किन्ने सम्झौता गर्‍यो

डिसी नेपाल
७ कार्तिक २०७७ १२:२८

काठमाडौं। नेपालको एक निजी कम्पनीले बंगलादेशको फार्मास्युटिक कम्पनी ग्लोबल बायोटेक लिमिटेडसँग २० लाख डोज कोरोना भ्याक्सिन किन्ने सम्झौतामा हस्ताक्षर गरेको छ । ग्लोबल बायोटेकका अध्यक्ष हारुनुर राशिदले बंगलादेशका लागि नेपाली राजदूत डा. बंशीधर मिश्रसमेत उपस्थित रहेको एक प्रेस ब्रिफिङमा यो जानकारी दिएको बंगलादेशको अखबार ढाका ट्रिब्यूनले जनाएको छ । एक प्रश्नको जवाफ दिँदै अध्यक्ष राशिदले सम्झौता गर्ने नेपाली कम्पनी अनमोल हेल्थकेयर भएको जानकारी दिए ।

अध्यक्ष राशिदका अनुसार नेपालसहित श्रीलंका, म्यानमार र अन्य देशहरुले समेत ग्लोबल बायोटेकले विकास गर्ने भ्याक्सिन पहिल्यै सुरक्षित गर्ने प्रयास गरिरहेका छन् । ‘हामीले अर्को देशबाट पनि २ करोड डोजको अर्डर पाएका छौं तर गोपनीयता नीतिका कारण हामीले यसको नामको खुलासा गर्न सक्दैनौं’ राशिदले भने । प्रेस ब्रिफिङका क्रममा अध्यक्ष राशिदले अमेरिका र केही युरोपेली देशहरुले समेत ग्लोबल बायोटेकको भ्याक्सिन ‘ब्यानकोभिड’ खरिद गर्ने अपेक्षा गरिएको जानकारी दिए ।

ग्लोबल बायोटेकको कारखाना भ्रमण गरेपछि बंगलादेशका लागि नेपाली राजदूत डा. मिश्रले भने ‘हाम्रो नजिकको छिमेकीले भ्याक्सिन विकसित गरिरहेको छ भन्ने थाहा पाउँदा नेपाली जनता र नेपाल सरकार समेत निकै उत्साहित र खुसी भएका छन् ।’ नेपालले आफ्ना जनताको लागि बंगलादेशसँग निश्चित रुपमा भ्याक्सिन खरिद गर्ने उनले बताए । ‘यदि हामीले बंगलादेशको तर्फबाट अनुमति पायौं भने नेपालमा भ्याक्सिनको ट्रायल संचालन गर्न पनि इच्छुक छौं’ राजदूत डा. मिश्रले भने । अहिले अन्य नेपाली कम्पनीहरुले पनि यो भ्याक्स्निको लागि ग्लोबल बायोटेकसँग सम्पर्कमा रहेको बताउँदै राजदूत डा. मिश्रले पछि नेपाल सरकारले सिधै सम्झौता गर्न सक्ने बताए ।

गएको जुलाइमा ग्लोबल बायोटेकले बंगलादेशमा पहिलो पटक भ्याक्सिन विकास गरेको दावी गरेको थियो । ग्लोबल बायोटेकका असिस्टेन्ट म्यानेजर तथा कम्पनीको अनुसन्धान र विकासका इन्चार्ज डा. असिफ महमुदले कम्पनीले विकास गरेको भ्याक्सिनको जनावरमा गरिएको परीक्षण सफल रहेको जानकारी दिएका थिए ।

गएको अक्टोबर ५ मा ग्लोबल बायोटेकले अहिले ह्युमन ट्रायलको अनुमति पाएमा आउँदो जनवरीसम्म भ्याक्सिन बजारमा ल्याउने गरी काम गरिरहेको बताएको थियो । कम्पनीले आफ्नो भ्याक्सिनलाई सफल बनाउन आफ्नो तर्फबाट आवश्यक सबै तयारीहरु पूरा गरिसकेको र अब सबै कुरा सरकारको सहयोग र सहकार्यमा निर्भर रहने बताएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *