हाम्रो यात्रा सफल बनाउने जिम्मा पाठकको, सुसूचित गराउने प्रण हाम्रो (सम्पादकीय)

डिसी नेपाल
९ कार्तिक २०७७ ८:४५

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीले विश्व नै आक्रान्त अवस्थामा छ, नेपाल अछुतो हुने कुरै भएन। पछिल्लो तथ्यांक अनुसार नेपालमा संक्रमितको संख्या डेढ लाख नाघिसकेको छ।

परीक्षणको दायरा व्यापक हुन नसकेको र संक्रमित सबैको परीक्षण हुन नसकेका कारण आधिकारिक संख्या आउन नसकेको मत पनि सुनिएको छ। संक्रमितको संख्या बढेको आधारमा भन्ने हो भने अवस्था विकराल भइसकेको हुन सक्छ। दैनिक रुपमै ५ हजारभन्दा बढी संक्रमित थपिइरहेको अहिलेको अवस्थामा महामारी उच्चतम विन्दुमा पुगेको अनुमान गरिएको छ।

यही समयमा नेपालीहरुको महान चाड दशैं घर घरमा भित्रिएको छ। घरपरिवार आफन्तसँग रमाइलो गरी दशैं मनाइरहँदा महामारी उत्कर्षमा पुग्नु दुःखको कुरा हो। शताब्दीऔं अघिदेखि परिवार, आफन्तजन, छरछिमेकी, इष्टमित्रको एक आपसमा भेटघाट हुने चाडको रुपमा चिनिएको दशैंमा महामारीले यसरी आक्रान्त पार्दा दशैंको परम्परागत महत्वमा बादल लागेको छ। सबैसँग नजिकिने र खुसीयाली मनाउने समयमा सबैबाट टाढिनुपर्ने अवस्था आउनु निश्चय पनि पीडादायी हुन्छ र नेपालीहरुले अहिले त्यही पीडा महसुस गरिरहेका छौं।

हाम्रा केही जनशक्ति नै संक्रमित भएका कारण थप कठिनाइ भएको छ । तर, हाम्रा पाठकको हामीप्रतिको विश्वास र शुभेच्छाले हामीलाई आफ्नो जिम्मेवारी र कर्तव्यपथमा निरन्तर अगाडि बढ्न प्रेरणा दिइरहेका कारण हामि जिम्मेवारीबाट भाग्न चाहेनौं। अहिलेको कठिन परिस्थितिले हाम्रो सूचना प्रवाहको काम नरोकिने र हामी हाम्रा पाठकलाई सुसूचित गर्ने अभियानमा निरन्तर सक्रिय रहिरहने विश्वास दिलाउन चाहन्छौं।

महामारीका बीचमा पनि डिसी नेपाल डटकमले आम नागरिकलाई निरन्तर सही र तथ्यपरक सूचनाको पहुँचसम्म राखिराख्ने अभियानलाई कहिल्यै कमजोर हुन दिएन। संकटका बीचमा पनि हामी सूचना प्रवाहको लागि निरन्तर खटिइरह्यौं। महामारीको बढ्दो प्रसार र त्यही बेला सरकारले लागू गरेको बन्दाबन्दीको अवस्थामा कैयौं छापा संचारमाध्यमले प्रकाशन बन्द गर्नुपर्यो।

मुद्रण कार्यमा संलग्न हुने, प्रकाशित अखबार वा म्यागजिन पाठकसम्म पु-याउने काममा खटिने जनशक्ति नै संक्रमित हुने जोखिम र त्यसमाथि कागजबाटै समेत संक्रमण फैलिने जोखिमका कारण छापा मिडिया बन्द हुँदा हामी अर्थात विद्युतीय संचारमाध्यमको आवश्यकता र जिम्मेवारी झनै बढ्यो जसलाई हामीले सहर्ष काँध हाल्यौं। नागरिकको जान्न पाउने हकको सम्मान गर्दै अहोरात्र आफ्ना पाठकको सेवामा जुट्नुलाई हामिले बोझ होइन, दायित्वको रुपमा लियौं।

संकटको घडी, संचारमाध्यमको सीमित क्षमता र सूचनाको अधिक आवश्यकताका बीच चाड आउँदा समेत हामीलाई निरन्तर सूचना प्रवाहमा सक्रिय रहन थप ऊर्जा खर्चनु परिरहेको छ। यही समयमा हाम्रा केही जनशक्ति नै संक्रमित भएका कारण थप कठिनाइ भएको छ। तर, हाम्रा पाठकको हामीप्रतिको विश्वास र शुभेच्छाले हामीलाई आफ्नो जिम्मेवारी र कर्तव्यपथमा निरन्तर अगाडि बढ्न प्रेरणा दिइरहेका कारण हामी जिम्मेवारीबाट भाग्न चाहेनौं।

अहिलेको कठिन परिस्थितिले हाम्रो सूचना प्रवाहको काम नरोकिने र हामी हाम्रा पाठकलाई सुसूचित गर्ने अभियानमा निरन्तर सक्रिय रहिरहने विश्वास दिलाउन चाहन्छौं।

यो महा संकटलाई घरमै बसेर, बाहिरी वस्तु एवम् व्यक्तिहरूसँग टाढै रहेर मात्र पार लाउन सम्भव छ। स्वास्थ्य विशेषज्ञहरुले यो महामारीलाई जित्नको लागि हरेक व्यक्तिले पालना गर्नुपर्ने निश्चित मापदण्डहरुबारे आम नागरिकलाई जानकारी गराइसकेका छन्। हाम्रा पाठकहरु पनि यसबारे जानकार हुनुहुन्छ भन्ने हामीले विश्वास लिएका छौं।

हामीलाई थाहा छ हामी हाम्रो सबैभन्दा ठूलो सांस्कृतिक उत्सव मनाउँदैछौं। र, यो पनि थाहा छ, उत्सवको नाममा केही सीमारेखाहरु नाघ्दा यसले हामीलाई नै ठूलो पीडा दिन सक्नेतर्फ सचेत हुनु जरुरी छ। आशा छ, हाम्रा सम्पूर्ण पाठकले अहिलेको यो विश्वव्यापी विपत्तिलाई पार लगाउन आ–आफ्नो ठाउँबाट भूमिका खेल्नु हुनेछ।

विश्वको जुन कुनामा बसेपनि आफ्नो देश, आफन्त र नागरिककाबारे चासो रहनु स्वभाविक हो। यही खाचोलाई मध्यनजर गर्दै निरन्तर सूचना प्रवाह गर्ने हाम्रो प्रतिवद्धता हो। हामी पाठकको उचित सुझाव र सल्लाहको सँधै प्रतिक्षा गर्नेछौं। भएका कमी कमजोरी हटाएर अघि बढ्ने प्रण गर्दछौं। हाम्रो यात्रा सफल बनाउने जिम्मा तपाईँ पाठकहरुको, सुसूचित गराउने प्रण हाम्रो।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *