भिआईपीको दशैं : टीका लगाइ दिने औपचारिक कार्यक्रम स्थगित गरेर पारिवारिक जमघटमा रमाउँदै

डिसी नेपाल
९ कार्तिक २०७७ १४:४२

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वराजा ज्ञानेन्द्र शाहलगायत विशिष्ट व्यक्तिले सर्वसाधारणलाई दशैंमा टीका लगाइदिने कार्यक्रम यस वर्ष स्थगित गरेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको चाडपर्व जात्रा तथा उत्सव मनाउँदा पालना गर्नुपर्ने मापदण्डमा भीडभाड नगरी एउटै घरमा बसोबास गर्ने व्यक्तिबाहेक अन्यसँग भेटघाट कम गर्नुपर्ने उल्लेख गरेका कारण यो वर्षको दशैंमा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम स्थगित भएको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारणलाई टीका नलगाइ दिएपनि आफूले भने आमाको हातबाट टीका ग्रहण गर्ने कार्यक्रम रहेको छ। ‘कोरोना संक्रमणका कारण राष्ट्रपतिज्यूले सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम स्थगित भएको हो,’ राष्ट्रपतिका स्वकीय सचिव डा. भेषराज अधिकारीले डिसी नेपालसँग भने, ‘तर राष्ट्रपतिज्यूले आमाको हातबाट टीका ग्रहण गर्ने कार्यक्रम रहेको छ।’

उपराष्ट्रपति नन्दबहादुर पुनले यो वर्षको दशैंको अवसरमा आयोजना हुने चियापान र टीका कार्यक्रम स्थगित गरेका छन्। उपराष्ट्रपतिको सचिवालयका अनुसार दशैंमा भीडभाड हुने सबै कार्यक्रम स्थगित भएको गरिएको छ। ‘स्वास्थ्य मन्त्रालयले जारी गरेको मापदण्डले एउटै घरमा बसोबास गर्नेबाहेक अन्यसँग भेटघाट गर्न बर्जित गरेपछि भीडभाड हुने टीकाको कार्यक्रम स्थगित भएको छ,’ उपराष्ट्रपतिको सचिवालयले भनेको छ।

यसअघि सर्वसाधारण र पार्टी कार्यकर्तालाई टीका लगाएर दशैं मनाउने प्रधानमन्त्री केपी शर्मा ओलीले यो वर्ष भने टीकाको कार्यक्रम स्थगित गरेका छन्। ‘यस्तो परिस्थितिमा यो वर्ष सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम स्थगित भएको छ,’ प्रधानमन्त्री ओलीका प्रेस संयोजक रामशरण बजगाईँले डिसी नेपालसँग भने। तर प्रधानमन्त्री ओलीले आफ्ना बुवाका हातबाट टीका ग्रहण गर्ने कार्यक्रम रहेको छ।

पूर्वराजा ज्ञानेन्द्र शाहले यो वर्षको दशैंमा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम स्थगित गरेका छन्। सर्वसाधारण मात्र नभई आफ्ना कर्मचारीलाई समेत टीकालगाइदिने कार्यक्रम स्थगित गरिएको पूर्व राजाका संवाद सचिव फणिराज पाठकले जानकारी दिए।

‘सार्वजनिक रुपमा हुने कार्यक्रम स्थागित गरिएको छ,’ पाठकले डिसी नेपालसँग भने, ‘पारिवारिक रुपमा भने टीका लगाउने कार्यक्रम यथावत नै छ।’ पाठकका अनुसार पूर्व राजाले शुभसाइतमा पूर्वमुमा बडामहारानी रत्नको हातबाट महेन्द्र मन्जिलमा गएर टीका ग्रहण गर्ने र त्यसपछि निर्मल निवासमा छोरा बुहारी र नाति नातिनीलाई टीका लगाइ दिने कार्यक्रम रहेको छ।

पूर्वप्रधानन्त्री एवं नेकपा वरिष्ठ नेता माधव नेपालले पनि यो वर्ष सार्वजनिक रुपमा टीका लगाउने कार्यक्रम स्थगित गरेका छन्। ‘घरभित्र भएका मानिसलाई बाहेक अन्य कसैलाई पनि टीका लगाउने कार्यक्रम रहेको छैन,’ नेता नेपालका स्वकीय सचिव मोहन गौतमले डिसी नेपालसँग भने, ‘कोभिडका कारण यो वर्ष टीका लगाउने कार्यक्रम स्थगित गरिएको छ।’

नेता नेपालको घरमा उनीभन्दा जेष्ठ सदस्य नभएका कारण यो वर्ष उनी आफैंले पनि टीका नलगाउने भएका हुन्। गत वर्षहरुमा नेता नेपालले काकीको हातबाट टीका ग्रहण गर्दै आएका थिए।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विगतका वर्षमा कार्यकर्ता र शुभेच्छुकलाई टीका लगाइने गर्थे। तर यो वर्ष कोभिडका कारण सार्वजनिक रुपमा टीका लगाउने कार्यक्रम स्थगित भएको छ। तर पारिवारिक रुपमा भने देउवाले दशैंको टीका लगाउने छन्।

‘यो वर्ष विगका वर्षमा झैं दशैं मनाउने कार्यक्रम छैन,’ सभापति देउवाका स्वकीय सचिव भानु देउवाले डिसी नेपालसँग भने, ‘पारिवारिक रुपमा भने दशैं मनाउने र टीका लगाउने कार्यक्रम छ।’ देउवाले श्रीमती, छोरालगायत आफन्तलाई टीका लगाइ दिने छन्। आफू भने दशैंको सासू, ससुराको हातबाट टीका ग्रहण गर्ने कार्यत्रम रहेको छ।

योवर्ष दशैंको टीका मात्र होइन ठूला पार्टीले आयोजना गर्ने चियापान कार्यक्रमसमेत स्थगित गरिएका छन्। औपचारिकरुपमा निर्णय नभए पनि यो वर्षका लागि चाडवाड लक्षित चियापान कार्यक्रम स्थगित संकेत देखिएको छ।

कोरोना संक्रमणको उच्च जोखिम भएको उपत्यकामा चाडवाड र अन्य अवस्थामा भीडभाड हुने खालका कुनै पनि कार्यक्रम नगर्न मापदण्ड नै जारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको मापदण्डमा धार्मिकस्थलमा २५ जनाभन्दा माथि भेला हुन पाइनेछैन।

अभिवादन गर्दा भौतिक दूरी कायम गरी टाढैबाट गर्नुपर्ने, देवीदेवताका मूर्ति र धेरै व्यक्तिले प्रयोगमा ल्याउने वस्तुहरु नछुने,  सार्वजनिक स्थलमा  जथाभावी नथुक्ने, पैसाको कारोबार गर्दा सम्भव भएसम्म विद्युतीय माध्यमको प्रयोग गर्ने र उच्च जोखिम वर्गका व्यक्ति घरपरिवारबाहेक बाहिरका व्यक्ति सहभागी हुने भेलामा सहभागी नहुने गरी सात बुँदे मापदण्ड सार्वजनिक गरेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *