मोदीको विशेष दुतका रुपमा ‘रअ’प्रमुख नेपाल आएका हुनः ईश्वर पोखरेल

डिसी नेपाल
१० कार्तिक २०७७ १:०६

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री र भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुखबीचको भेटबारे स्पष्टीकरण दिएका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै पोखरेलले परराष्ट्र मन्त्रालयको जानकारीमा ‘रअ’ प्रमुख सामन्तकुमार गोयलले नेपाल भ्रमण गरेको र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको दाबी गरेका छन् ।

‘रअ’ प्रमुख नै परराष्ट्र मन्त्रालयको जानकारी तथा स्वीकृतिमा नेपाल आएको तथा काठमाडौंस्थित भारतीय राजदूतावासले औपचारिक रूपमा त्यसको जानकारी गराउँदै आवश्यक पत्राचार र पहल गरेको उपप्रधानमन्त्री पोखरेलेको भनाई रहेको छ ।

प्रधानमन्त्रीको प्रस्तुतिलाई ‘रअ’ प्रमुखले सकारात्मक रूपमा लिँदै अविलम्ब वार्ताद्वारा समाधानका लागि अघि बढ्नुपर्ने भनाइ राखेको पोखरेलको दाबी छ ।

‘रअ’ प्रमुखसँग भएको वार्ताको औपचारिक टिपोट परराष्ट्र मन्त्रालयमा समेत सुरक्षित रहेको उपप्रधानमन्त्री पोखरेलको तर्क छ ।

पोखरेलले प्रधानमन्त्री र ‘रअ’ प्रमुखबीचको संवाद केही समयदेखि असहज बन्न पुगेको नेपाल–भारत सबन्ध खासगरी सीमा समस्यासित र नयाँ नक्सा प्रकाशनसित गाँसिएका विषयमा केन्द्रित रहेको दाबी गरेका छन् ।

पोखरेलको पूरा स्टाटसः

१. भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रूपमा प्रधानमन्त्री केपी ओलीसित भेट तथा संवादका लागि आए र फर्किए ।

२. नेपाल सरकारको परराष्ट्र मन्त्रालयको जानकारी तथा स्वीकृतिमा उनी नेपाल आएका हुन् । काठमाडौंस्थित भारतीय राजदूतावासले औपचारिक रूपमा त्यसको जानकारी गराउँदै आवश्यक पत्राचार र पहल गरेको थियो ।

३. प्रधानमन्त्री केपी शर्मा ओलीले सामन्त गोयलको टोलीसित के–के विषयमा कुरा गर्नुभएको थियो ? बातचितमा प्रम ओलीसित रहनुभएका प्रतिनिधिहरूले जिम्मेवारीपूर्वक सुनेका छन्– टिपोट गरेका छन् । परराष्ट्र मन्त्रालयमा समेत वार्ताको औपचारिक टिपोट सुरक्षित छ ।

४. बातचितमा प्रम ओलीले विगत केही समयदेखि असहज बन्न पुगेको नेपाल–भारत सम्बन्ध खासगरी सीमा समस्यासित र नयाँ नक्सा प्रकाशनसित गाँसिएका विषयमा केन्द्रित रहेको थियो । त्यहाँ नेपालले राख्दै आएका अडानहरू पुनः जानकारी गराइएको थियो र समाधानका लागि नेपालका तर्फबाट स्पष्ट दृष्टिकोण प्रस्तुत गरिएको थियो । र, वार्ताद्वारा नै तथ्य तथा ऐतिहासिक प्रमाणहरूका आधारमा देखापरेका समस्याहरूको समाधान खोजिनुपर्ने समाधान प्रस्तुत गरिएको थियो । त्यहाँ गोयल (हरू)का तर्फबाट नेपालका प्रमको प्रस्तुतिलाई सकारात्मक रूपमा लिँदै अविलम्ब वार्ताद्वारा समाधानका लागि अघि बढ्नुपर्ने भनाइ राखिएको थियो । नेपाल–भारतका बीचमा कुनै समस्या छन् भने तिनलाई संवादका माध्यमबाट हल गर्न सकिन्छ भन्ने अकाट्य निष्कर्षमा पुगिएको थियो ।

५. विगत केही समयदेखि केही असहज बन्न पुगेको नेपाल–भारत सम्बन्धलाई यही अवस्थामा रहन दिनु नहुने मान्यताका साथ गरिएको यो पहल र प्रयत्नलाई एक स्वरमा खासखास खालका मानिसहरूद्वारा किन विरोध भइरहेको छ ? तिनीहरूले किन विरोध गरिरहेका छन् ? यसलाई अघि सारेर प्रम केपी शर्मा ओली र उहाँले नेतृत्व गरेको सरकारको विरोधमा किन खनिँदै छन्– ती मानिसहरू र कारणहरू राम्ररी बुझिएको छैन ।

अहिले धेरै कुरा किन गर्ने १ उहाँहरूले वास्तविकता नबुझी पूर्वाग्रह राखेर वा विरोधका लागि विरोध गर्नुपर्छ भन्ने अस्वस्थ्य मानसिकता बोकेर यी सबै काम गरिरहनुभएको छ भन्ने कुरा ठोकेर भन्न सकिन्छ । प्रोटोकललाई ख्याल नगरिएको, मर्यादाको पालना नगरिएको, छिमेकी मुलुकको जासुसी संस्थाको योजनामा सञ्चालित हुन खोजेको, वार्ताका विषयलाई रहस्यमा राखिएको, राष्ट्रियता र स्वाधीनतामा आँच पुरÞ्याइएको आदि भनेर आरोप लगाउने कोसिस भइरहेको छ । अर्थात्, यी सबै कुरा गरेर कम्युनिस्ट पार्टीको सरकारविरुद्धमा एउटा गलत खालको बहस सिर्जना गर्न खोजिँदै छ । दुर्भाग्य ! कम्युनिस्ट पार्टीकै कतिपय नेताहरूसमेत यस अभियानमा संलग्न हुन खोजेका देखिँदै छन् ।

६. यतिबेला एउटा कुरा सबैले ख्याल गरौँ– केपी शर्मा ओली र उहाँले नेतृत्व गरेको यस सरकारविरूद्ध ती मानिसहरू अहिले विशेष निर्लज्जतापूर्वक लागेका छन्, जो विगतमा छिमेकीको न्यानो काखमा सुतेर देशका विरूद्ध गतिविधिहरू गरिरहेका थिए ! विगतमा भारतको ‘रअ’ का हाकिमहरूसित भेट गर्न तँछाड–मछाड गर्दै यिनै मान्छेहरू छिमेकी मुलुक पुग्दथे , त्यहाँ खुसामदका बिन्ती –बोली बिसाउँथे । विडम्बना ! अहिले उनीहरूसमेत राष्ट्रियताको बोलीमा लोली मिसाउँदै ओलीले नेतृत्व गरेको सरकारका विरुद्ध बृहत् गोलबन्दीको नायक बन्ने प्रयत्न गरिरहेका छन् ! !

याद रहोस् ! राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमिकता, स्वाभिमानमा आँच पुग्ने कुनै पनि कुरासित सम्झौता हुन सक्तैन । यिनै कुरालाई शिरमा राखी राष्ट्रको दीर्घकालीन हितमा लाग्ने कुरामा कहीँकतैबाट पनि आँच पुग्न दिइने छैन । विदेशीको काखको न्यानोमा सुत्न पल्केकाहरूको कथित राष्ट्रवादलाई चिनौँ, सजग होऔँ र सरकारले चालेका सही कदमहरूलाई साथ र समर्थन गरौँ !!!

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *