टीका, जमरासहित आशीर्वाद लिने क्रम जारी
काठमाडाैं । सुरक्षित रुपमा नजिकका आफन्तकहाँ पुगेर टीका र जमरा सहित मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने क्रम आज आश्विन शुक्ल त्रयोदशीको दिन पनि जारी रहने छ। यो क्रम आश्विन शुक्ल पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
केही मानिसले कात्तिक महिनामा परेको दशैँमा टीका लगाउनुहुन्न भनी सामाजिक सञ्जाललगायत माध्यमबाट चलाएको हल्लामा कुनै शास्त्रीय सत्यता नरहेको समितिको ठहर छ। समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले चान्द्रमास अनुसार अहिले पनि आश्विन शुक्ल पक्ष नै रहेकाले त्यस्तो हल्लाका पछि नलाग्न सवैमा आह्वान गरे। “हाम्रा चाड पर्व, तिथि, श्राद्ध चान्द्रमास अनुसार मनाइन्छ, यसैले अहिले कोजाग्रत पूर्णिमासम्म कोरोना भाइरस सङ्क्रमण नफैलने गरी सुरक्षित रुपमा टीका ग्रहण गर्न शुभ छ, सौरमास अनुसार कात्तिकमा दशैँ परेको यो पहिलोपटक होइन, यस वर्षमात्र किन यसरी हल्ला गरियो ? यसको खोजी गर्नु जरुरी छ, भ्रमको पछि नलागौँ”, उनले भने।
पछिल्लो समय मौलिक संस्कृतिमाथि आक्रमण गर्ने चलाइने यस्ता हल्लाका पछि नलागी सांस्कृतिक पर्वको शास्त्रीय मान्यता बुझेर त्यस अनुसार अघि बढ्न धर्मशास्त्रविद्हरुले आम मानिसमा आह्वान गरेका छन्। वैदिक सनातनी परम्परामाथि भ्रम फैल्याउन विगत केही वर्षदेखि मौलिक धर्म, संस्कृति लक्षित हल्ला चलाउने क्रम जारी रहेकाले सचेत हुन नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराईको भनाइ छ। रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment