नेकपा कार्यकर्ता चौरसियाको हत्या प्रकरणमा १२ जनाविरुद्ध किटानी जाहेरी दर्ता

डिसी नेपाल
१३ कार्तिक २०७७ १७:४४

काठमाडौं। पर्साको बिन्दाबासिनी गाँउपालिकाका नेकपा कार्यकर्ता मुकेश चौरसियाको हत्या भएको एक हप्तापछि प्रहरीले बिहीबार किटानी जाहेरी दर्ता गरेको छ। घटनामा असग्लनको नाम पनि जाहेरीमा उल्लेख भएको भन्दै उजुरी लिन नमानेको प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत आएको जाहेरीलाई दर्ता गरेको हो।

जाहेरी दर्तासँगै अनुसन्धान र कारवाही प्रक्रिया अघि बढेको छ। पर्सा प्रहरी प्रमुख एसपी गंगा पन्तका अनुसार मृतक चौरसियाका भाइ महेशले १२ जनालाई विपक्षी बनाएर किटानी जाहेरी दिएका छन्। जाहेरीमा पूर्व सांसद राजकुमार गुप्ता, धिरज चौरसिया, लछुमन चौरसिया, चिन्टु तिवारी पनि हत्या अभियुक्त बनाइएको छ।

सत्तारुढ नेकपाका कार्यकर्ताबीच भएको झडपका क्रममा सात दिनअघि चौरसिया घाइते भएका थिए। उनको उपचारको क्रममा भोलीपल्ट मृत्यु भएको थियो। प्रहरीले मुद्दा दर्ता गर्न नमानेको भन्दै पर्सामा नेकपा कार्यकर्ताले निरन्तर दबाब दिँदै आएका थिए।

नेकपा कार्यकारी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले पनि दोषीमाथि कारवाही गर्न सरकारसँग माग गर्दै आएका थिए। गत बिहीबार नेकपाको बिन्दावासिनी गाउँपालिका अध्यक्षको शपथ ग्रहण कार्यक्रममा असन्तुष्ट पक्षले विथोल्न खोज्दा भएको झडप चौरसियाको मृत्यु भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *