कृषि ज्ञान केन्द्र स्थापनापछि किसान उत्साहित

डिसी नेपाल
१३ कार्तिक २०७७ २३:११

महोत्तरी । आफ्नै जिल्ला सदरमुकाममा कृषि ज्ञान केन्द्र स्थापना भएपछि महोत्तरीका किसान उत्साहित भएका छन् । बडादशैंसँगै जलेश्वरमा सो केन्द्र सञ्चालनमा आएको हो । यसबाट किसानलाई खेतीपातीमा आवश्यक सहयोग चाँडै पाउने आशा पलाएको छ ।

“पछिल्ला करिब तीन वर्ष (जिल्ला कृषि विकास कार्यालय) हटेपछि त हामी रनभुल्ल थियौं”, भङ्गाहा नगरपालिका–४ का सत्यनारायण यादवले भने, “अब भने किसानले परामर्श सेवा, प्राविधिक सरसल्लाह र सहुलियतका सामानहरु समयमा पाउने आशा जागेको छ ।” गौशाला नगरपालिकाका बटौवा बस्तीका किसान अरुणसिंह कुशवाहाले पनि केन्द्र खोलिएपछि आफूहलाई सहज हुने बताए ।

सरकारले दुई जिल्ला कार्यक्षेत्र रहनेगरी कृषि ज्ञान केन्द्र सञ्चालनमा ल्याएको थियो । प्रदेश नं। २ का आठ जिल्लामा चार केन्द्र सञ्चालनमा आएका छन् ।

महोत्तरीमा कूल करिब ७० हजार हेक्टर खेतीयोग्य जग्गा रहेको मानिन्छ । यहाँ तरकारी, फलपूmल, माछापालन, पशुपालन (दूध र मासु उत्पादनका लागि) र अन्नबालीका खासखास क्षेत्र यसअघि नै तोकिएका छन् ।

केन्द्रले खासखास क्षेत्रमा लागेका किसानलाई थप उत्प्रेरित गर्न आवश्यक रहेको कृषिविज्ञका हैसियतमा सरकारी सेवाबाट निवृत भङ्गाहा–६ का राजकिशोर यादवले बताए ।

प्रदेशभित्र प्रत्येक जिल्लामा कृषि ज्ञान केन्द्र नहुँदा समुचित समन्वय हुन नसकेको गुनासो बढेपछि प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गत भदौमा सबै जिल्लामा कार्यालय स्थापना गर्ने निर्णय गरेअनुरुप अहिले केन्द्र सञ्चालनमा आएको हो । कार्यालयले अब किसानको हित र कृषि उत्पादन वृद्धिको ठोस लक्ष निर्धारण गरेर नै काम व्यवस्थित गर्ने जनाएको छ ।

“हामीले किसानका आवश्यकतासँग सेवालाई जोड्ने छौं”, नवस्थापित केन्द्रका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत रामचन्द्र यादवले भने , “यस क्रममा कृषि सहकारी संस्थाहरु, स्थानीय तह र हाम्रामातहत सेवा केन्द्रबीच समन्वय गरिनेछ ।”

जिल्लाका किसानले मुख्यतः सिँचाइ प्रबन्धका वैकल्पिक उपायको अवलम्बन, सही समयमा बिउबिजन, मल र सुलभ ऋण, माटो जाँच तथा नियमित समन्वय र प्राविधिक परामर्श पाइरहनुपर्ने बताएका छन् ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *