प्रमुख प्रशिक्षकमा ७७ जना विदेशीको आवेदन, नेपालबाट परेन एउटै आवेदन

डिसी नेपाल
१७ कार्तिक २०७७ ८:१३

काठमाडौं। राष्ट्रिय क्रिकेट टोलिको प्रमुख प्रशिक्षक पदका लागि ७७ जनाले आवेदन दिएका छन् । नेपाल क्रिकेट संघले प्रमुख प्रशिक्षक, महाप्रबन्धक (जीएम), प्रमुख वित्त अधिकृत, सात प्रदेशका लागि सात जना स्थानीय प्रशिक्षक र क्रिकेट म्यानेजरका लागि आवेदन आव्हान गरेको थियो ।

नेपाल क्रिकेट संघका महासचिब अशोकनाथ प्याकुरेलले प्रमुख प्रशिक्षकका लागि परेका आवेदन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)लाई पठाइएको जानकारी दिए । उनले एक साताभित्रै आईसीसीले प्रमुख प्रशिक्षक पदका उम्मेदवारहरुको छोट्याइएको सूची नेपाल क्रिकेट संघलाई पठाउने बताए ।

एकजना प्रमुख प्रशिक्षक पदका लागि दक्षिण एशियाली राष्ट्रहरुसँगै दक्षिण अफ्रिकाबाट समेत आवेदन परेको छ । महासचिब प्याकुरेलले भने “भारत, श्रीलङ्का, पाकिस्तानसँगै दक्षिण अफ्रिकाबाट प्रमुख प्रशिक्षकका लागि आवेदन परेको छ ।” नेपालबाट प्रमुख प्रशिक्षकका लागि एउटै आवेदन परेको छैन ।

नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशन सिंहले एक साताभित्र छोट्याइएको सूची आईसीसीले क्यानलाई पठाउने जानकारी दिए । आईसीसीले जारी गरिएको मापदण्ड बमोजिम पहिलो चरणमा छोट्याएर दश जनाको सूची क्यानलाई पठाउने खुलाए । दश जनाबाट थप ‘शर्टलिस्ट’ गरिने उनले बताए । प्रमुख प्रशिक्षक पदका लागि आवेदन दिनेमा अधिकांश दक्षिण एशियाली राष्ट्रका छन् ।

महासचिब प्याकुरेलले आईसीसीबाट सूची प्राप्त हुनासाथ समिति बनाएर थप छनोट, अन्तवार्ता र नियुक्ति प्रकृया अगाडि बढाइने बताए। अन्तिम छनोट चरणमा आईसीसीको सहमति लिएर नियुक्त गरिने उनले उल्लेख गरे ।

नेपाल क्रिकेट संघका अध्यक्ष र महासचिब दुबै जना अस्वस्थ्य भएपछि संघको नियमित कामकाज प्रभाबित भएको थियो । महासचिब प्याकुरेल गत् साता मात्रै कोरोनामुक्त भएर घर फर्किएका छन् ।

प्रमुख प्रशिक्षक पदका लागि सीए लेभल तीनको योग्यता हुनुपर्ने, तीन वर्ष व्यवसायिक प्रशिक्षणको अनुभव भएको हुनुपर्नेछ । जस अन्तगर्त आईसीसीको पूर्ण सदस्य, पहिलो श्रेणिको टोली, एशोसिएट सदस्य, राष्ट्रिय टोलि वा अन्तर्राष्ट्रिय लिगको अनुभव लिएको हुनुपर्नेछ ।

६० वर्ष उमेर हद तोकिएको प्रशिक्षकका उम्मेदवारले एशोसिएट राष्ट्रको एकदिवसीय चक्रबारे जानकार हुनुपर्ने र क्रिकेट संस्कृतिको ज्ञान हुनुपर्ने मापदण्ड तोकिएको छ ।

संघले छनोट गरेको उम्मेदवारसँग एकवर्षको समयावधि राखेर अनुबन्धन गरिने आजको गोरखापत्र दैनिकमा खवर छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *