तीस वर्षदेखि फरार अभियुक्त पक्राउ

डिसी नेपाल
१९ कार्तिक २०७७ ११:१७

कर्णाली । प्रहरीले ३० वर्षदेखि फरार रहेका व्यक्ति कूटपिट तथा अङ्गभङ्गसम्बन्धी मुद्दाका एक अभियुक्तलाई पक्राउ गरेको छ। पञ्चपुरी नगरपालिका–२ सालकोटका मानबहादुर सुनारलाई इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतबाट खटिएको प्रहरी टोलीले मङ्गलबार बर्दियाको बासगढीबाट पक्राउ गरेको हो।

जिल्ला अदालत सुर्खेतले २०४७ पुस २६ गते व्यक्ति कूटपिट तथा अङ्गभङ्गसम्बन्धी मुद्दामा सुनारलाई दोषी ठहर गर्दै आठ वर्ष कैद र रु पाँच हजार जरिवानाको फैसला सुनाएको थियो । सुनारका सहोदर तीन दाजुभाइ मिलेर २०४६ चैत १३ गते छिमेकी तुलाराम निउरेलाई कूटपिट गरेको मुद्दामा अदालतले उक्त फैसला गरेको थियो । घटनापछि पीडित तुलारामको बायाँ हात र खुट्टा चल्न छाडेको र शारीरिक रुपले अशक्त भएको बताइएको छ।

मानबहादुरसहित दुई जना पक्राउ परिसकेका छन् भने एक अझैं फरार छन् । अदालतले घटनामा संलग्न तीनै दाजुभाइलाई समान सजाय सुनाएको थियो । फैसला भएकै राति सुनार दाजुभाइ गाउँबाट फरार भएका थिए । जिल्ला प्रहरीले फरार अभियुक्तलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी सहायक निरीक्षक हरि साउदको नेतृत्वमा चार जनाको टोली खटाएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पक्राउ गरिएका अभियुक्तलाई अदालत समक्ष पठाइएको बताए।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *