सपना पूरा गर्नेको भोगाइ-जीवनको सन्तुलित मार्गले गन्तव्यमा पु-याउँछ

डिसी नेपाल
२० कार्तिक २०७७ ११:०४
152
Shares

काठमाडौं। हिन्दु परम्परा अनुसार महिलालाई शक्तिका अनेकरुपमा चिनिन्छ। आवश्यक पर्दा हरेक अवस्थालाई आफ्नो काबुमा राख्न सक्ने शक्ति भएका कारण महिलाका विभिन्न रुपको पूजा समेत हुने गरेको पाइन्छ। आमाले बेलाबेलामा भन्नु हुन्थ्यो, ‘काम नि छैन, फुर्सद नि छैन, सानोमा धेरै कुरा बुझ्थिन’, नुवाकोट की सतिा अधिकारीले भनिन्।

महिलाले घरकोमात्र काम गर्नुपर्छ भन्ने मानसिकता अनुसार आमाले न काम न फुर्सदको अवस्थामा आफूलाई पाउनु भएको होला भन्ने सीताको बुझाइ छ। ‘पुरुषहरुले कमाउने मात्र काम गर्छन्,’ सीताले भनिन्, ‘महिलाको विहान उठ्ने बेलादेखि राति नसुत्दासम्म कुनै बेला काम खालि भएको देख्नु हुन्छ? खाली नै हुदैनन्।’

‘अझ के काम छ र तेरो? जस्ता शब्दबाणहरुले मन छियाछिया हुन्छ।’ ग्राहकलाई चिया दिँदै सीताले भनिन्, ‘म त आफैं संघर्ष गर्नु पर्छ झैं लाग्यो र चिया बेच्न थालेकी हुँ।’ सासू र आमाहरुले जीवन बिताए झैं गरी आफूहरुले जीवन बिताउन नसक्ने सीताको बुझाइ छ।

‘अन्याय, अत्याचार, शोषण दमनले थिचेर कहिलै उठ्न सक्नु भएन उहाँहरु। हामी त नयाँ युगमा छौं। उहाँहरुको जस्तो जमना छैन। यो बेलामा त कमसेकम आफ्नो गर्न सकिन्छ,’ सीताका शब्दहरु कुनै नेताको भाषण भन्दा कम थिएनन्।

पुरानै शैलीले खेतिपाती गर्दा जीवन धान्न धौ धौ भएका कारण काठमाडौं छिरेको उनको अनुभव छ। करिव १० वर्ष पहिला काठमाडौंमा पहिलो कदम राखेकी सीताले आफ्नै कमाइले घर बनाएकी छन्।

‘गाउँमै बसेको भए काठमाडौंमा मेरो घर हुन्थेन होला,’ उनले भनिन्, ‘दुःख गर्न सक्छु भनेर काठमाडौं छिरेँ। दुःख गरेँ। अहिले काठमाडौंमै घर बनाएँ। अझै पनि मैले मेरो पेसालाई माया मार्न सकेकी छैन। यही हो मेरो धरातल।’

अधिकारी विगत १० वर्षदेखि कलंकीको मुख्य चोकमा चिया व्यापार गर्छिन्। फूटपाथमा गरेको व्यवसायले उनलाई राम्रो आम्दानी दिएको उनको भनाइ छ। ‘मलाइ अमेरिका यही, मलाइ अष्ट्रेलिया यही’ मुस्कुराउँदै गीत गाउन थालिन् उनले। ‘सबै भन्दा ठूलो कुरा बोलीबचन त रै छ नि, मलाइ सबैले तपाईँको बोली बचनले गर्दा चिया खान आउछौं भन्छन्।’

मिठो बोली र मुस्कुराई रहने अनुहार नै सीताको सम्पतिको जड हो। ‘गलत गर्नु हुन्न। सोच्नेले सौच्दै गरुन,’ समाजले लगाउने गरेका लाल्छनाका विरुद्ध सीताको एउटै उत्तर छ, ‘कागले कान लियो भन्दैमा कागको पछाडि दौडिनु हुँदैन। म पुसको जाडोमा पनि राति ३ बजेपछि उठेर चिया सुरु गर्छु। चिसोमा शिरक भित्र गुटुमुटु हुन मलाइ मन छैन होला र? तर, सपना थियो काठमाडौंमा घर बनाएर बस्ने। पुरा गरेँ। सपनाले सुत्न खान दिदैन नि।’

सपनाको शहर काठमाडौंमा सक्नेले मोती टिप्ने गरेका छन्। सीता जस्ता धेरैले काठमाडौंबाट मोती बटुलेर जीवनलाई सुन्दर बनाएका छन्। सन्तानको भविष्यलाई उज्यालो बनाइ दिएका छन्। कतिपयलाई काठमाडौंले पतन पनि बनाएको छ। ‘आफ्नो इमान्दारीतालाई ढाल बनाएर बस्नु पर्छ।’

सीताले आफूले भोगेका कुरा सुनाईन्, ‘यहाँ आफूलाई महारानी सम्झेनेहरुको पनि हविगत आखै अगाडि छन्। पैसा भन्दा ठूलो केही हैन भन्नेहरुले खान नपाएको पनि देखिएको छ। जीवनको सन्तुलित मार्गले मात्र गन्तव्यमा पु-याउँछ। इमान्दारीता, लगनशिलता र अनुसाशनले नै माछेलाई गन्तव्य देखाउँछ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *