चिनी मिलहरुले भुक्तानी नदिएपछि उखु किसान आन्दोलित

डिसी नेपाल
२३ कार्तिक २०७७ १८:२९

काठमाडौं। भुक्तानी नपाएपछि उखु किसानहरु आन्दोलित भएका छन्। चिनी मिलहरुले बक्यौता भुक्तानी नगरेपछि उखु किसानहरुले पुनः आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्। सरकार र उखु किसानबीच गत वर्ष माघमा किसानहरुको बैंक खातामा रकम पुर्‍याउने सहमति भएकी थियो। तर, सहमति अहिलेसम्म कार्यान्वयन नभएपछि आन्दोलन घोषणा गरेको उखु किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ रायले बताए।

उखु किसानहरुलाई चिनी मिलले ८९ करोड ५५ लाख ४१ हजार एक सय ६९ रुपैँया भुक्तानी दिन बाँकी छ। यस वर्ष उखुको क्रसिङ सिजन मंसिरको अन्त्यतिरबाट शुरु हुँदैछ।

गत वर्ष माघको जाडोमा पानी पर्दा पनि कठ्यांग्रीएरै किसानहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका थिए। ‘त्यसपछि सरकारसँग वार्ता भइ किसानको खातामा रकम भुक्तानी गराउने सहमति भएको थियो,’ अध्यक्ष रायले भने, ‘तर सहमति अनुसार भुक्तानी नभएपछि चैतमा आन्दोलन शुरु गरेका थियौं। तर लकडाउनका कारण स्थगित गर्नु परेको हो।’

चिनी मिलले उखु किसानहरुलाइ वर्षौंदेखि भुक्तानी नदिदाँ पनि सरकार मूकदर्शक बसेको किसानहरुले आरोप लगाएका छन्।

उता चिनी मिलहरूले भुक्तानी दिन किसानहरुसँग बैंक खाता माग गर्दा पनि उपलब्ध नगराएको बताएका छन्। महालक्ष्मी सुगर मिल र बाग्मती खाँदबारी सुगर मिलले किसानले बैंक खाता उपलब्ध नगराउँदा केही लाख रुपैँया भुक्तानी दिन नपाएको उल्लेख गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *