राष्ट्रपति पदबाट हटेपछि के ट्रम्प जेल जान्छन् ?

डिसी नेपाल
२४ कार्तिक २०७७ १५:५७

काठमाडौं। अमेरिकी राष्ट्रपति पदको नतिजा आइसकेको छ र अमेरिकी जनताले जो बाइडेनलाई आफ्नो राष्ट्रपति चुनेका छन् । डोनाल्ड ट्रम्प राष्ट्रपति पदको आफ्नो दोस्रो कार्यकालका लागि सफल हुन सकेनन् । तर, यो केवल उनको चुनावी हार होइन उनलाई अगाडि अझै कठिनाइ हुन सक्छ । विशेषज्ञका अनुसार उनको कार्यकालमा भएका कथित घोटालाहरुको जाँचबाट थाहा हुन्छ कि राष्ट्रपति पदबाट हटेपछि उनले आपराधिक कारवाहीका अलावा कठिन वित्तिय स्थितिको पनि सामना गर्नुपर्ने हुन सक्छ ।

राष्ट्रपति पदमा बहाल भएका बेला उनीविरुद्ध आधिकारिक कामहरुको लागि मुद्दा चलाउन सकिँदैन । पेस युनिभर्सिटीमा संवैधानिक कानुनका प्राध्यापक ब्यानेट गर्शम्यानले बीबीसी मुण्डो सेवासँग भने ‘यसको सम्भावना छ कि ट्रम्पविरुद्ध आपराधिक मुद्दा चलाइनेछन् ।’प्रोफेसर गर्शम्यानले एक दशक न्यूयोर्कमा अभियोक्ताको रुपमा सेवा दिएका छन् । उनी भन्छन् ‘राष्ट्रपति ट्रम्पमाथि बैंक छली, कर छली, मनी लण्ड्रिङ, चुनाबी धोखाधडी जस्ता आरोप लाग्न सक्छन् । उनको कामसँग सम्बन्धित जो जानकारी मिडियामा आइरहेका छन् ती वित्तिय हुन् ।’

यद्यपि विषय केवल यहीँसम्म सीमित छैन । अमेरिकी मिडिया रिपोर्टका अनुसार डोनाल्ड ट्रम्पलाई भारी वित्तिय घाटाको सामना पनि गर्नु पर्न सक्छ । यसमा ठूलो परिमाणका निजी ऋण र उनको व्यवसायका कठिनाइहरु पर्छन् । न्यूयोर्क टाइम्सका अनुसार आगामी ४ वर्षमा ट्रम्पले ३० करोड डलरभन्दा धेरै ऋण तिर्नुपर्ने छ । त्यो पनि यस्तो समयमा जब उनको निजी लगानी राम्रो स्थितिमा छैन । हुनसक्छ ट्रम्प राष्ट्रपति नरहेपछि साहुहरुले ऋणको भुक्तानीको विषयमा उनीप्रति नरमपन नदेखाउन सक्छन् । डोनाल्ड ट्रम्पका आलोचकहरु उनी राष्ट्रपति पदमा हुनु उनका कानुनी र वित्तिय समस्यामा उनको कवच बनेको बताउँछन् । यदि यो सब रहेन भने उनका कठिन दिन आउन सक्छन् ।

आरोपलाई अस्वीकार गरे

राष्ट्रपति ट्रम्पले आफू आफ्ना दुश्मनहरुको षड्यन्त्रको शिकार भएको दावी गर्दै आएका छन् । उनले राष्ट्रपति बन्नुभन्दा पहिले र पदमा रहेका बेला अपराध गरेको झुटो आरोप लगाइएको ट्रम्पको दावी छ । ट्रम्पले स्पष्ट रुपमा आफूविरुद्ध लागेका आरोपहरु अस्वीकार गरेका छन् । साथमा उनी यो पनि भन्छन् कि उनको प्रशासनमाथि लागेको घाटालाका आरोपहरुको न्याय विभागको जाँच र यो वर्षको सुरुवातमा उनीमाथि लगाइएको महाअभियोगबाट उनी सफलतापूर्वक बरी भए ।

तर, यी सबै जाँच र प्रक्रियाहरु राष्टपतिलाई अभियोगबाट प्राप्त सुरक्षाको क्रममा भएका थिए । न्याय विभागले बारम्बार भनिरहेको छ कि राष्ट्रपति विरुद्ध पदमा रहेका बेला आपराधिक मुद्दा चलाउन सकिँदैन । विशेषज्ञले बीबीसी मुण्डोलाई बताउअनुसार यी जाँचहरुलाई डोनाल्ड ट्रम्पविरुद्ध कानुनी कारवाहीको आधार बनाउन सकिन्छ । ब्यानेट गर्शम्यान भन्छन् ‘हामीलाई पहिलेदेखि थाहा छ कि उनीविरुद्ध मतदाता धोखाधडीको आरोप लगाइन सकिन्छ किनकि म्यानहटनको लागि अमेरिकी अटनीले ट्रम्पलाई माइकल कोहेनसँग षड्यन्त्रमा सहयोगी बताएका छन् ।’

विशेषज्ञले डोनाल्ड ट्रम्पका पूर्व वकिल माइकल कोहेनविरुद्ध भएको जाँचको पनि स्करण गराउँछन् । २०१८ मा माइकल कोहेनलाई चुनाबी गडबडीहरुको लागि दोषी पाइएको थियो । उनीमाथि डोनाल्ड ट्रम्पसँग सम्बन्ध रहेको दावी गर्ने पोर्नस्टार स्टर्मी ड्यानियल्सलाई २०१६ को चुनाबमा पैसा दिएको आरोप लागेको थियो । माइकल कोहेनको जाँचको क्रममा आधिकारिक रुपमा बताइएको थियो कि राष्ट्रपति पदका एक उम्मेदवार (यसका लागि इण्डिधिजुअल वन शब्दको प्रयोग गरिएको थियो) आपराधिक गतिविधिमा कथित रुपमा सम्बन्धित थिए । अमेरिकी मिडियाले यी उम्मेदवारलाई डोनाल्ड ट्रम्पको नामसँग जोडेका थिए । यो खबर अमेरिकी मिडियामा ठूलो स्तरमा छाइरहेको थियो ।

मूलर रिपोर्ट

ब्यानेट गर्शम्यानका अनुसार ट्रम्पमाथि कथित मूलर रिपोर्टको नतिजालाई मध्यनजर गर्दै न्यायमा बाधा पुर्याएको आरोप पनि लाग्न सक्छ । २०१९ मा विशेष काउन्सिल रोबर्ट मूलरले २०१६ को राष्ट्रपति निर्वाचनमा रुसको दखललाई लिएर जाँच रिपोर्ट सुम्पिएका थिए । त्यो रिपोर्टमा ट्रम्पलाई क्लिन चिट दिइएको थियो र ट्रम्पको प्रचार टिम र रुसको बीच कुनै किसिमको साँठगाँठको बलियो प्रमाण नभेटिएको बताइएको थियो । यद्यपि रिपोर्टमा यो अवश्य भनिएको थियो कि डोनाल्ड ट्रम्पले जाँचमा बाधा पुर्याउने प्रयास गरेका थिए । ट्रम्पले मूलरलाई पदबाट हटाउने कोसिस पनि गरेका थिए ।

मूलरले त्यतिबेला न्यायमा बाधा पुर्याएको अभियोगमा डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने वा नलगाउने भन्ने निर्णय अमेरिकी संसदले गर्नुपर्ने बताएका थिए किनकि राष्ट्रपतिमाथि न्यायका सामान्य माध्यमबाट अभियोग लगाएर मुद्दा चलाउन सकिँदैन । त्यतिबेला संसदले ट्रम्पविरुद्ध महाअभियोग लगाएन तर महिनौंपछि उनीविरुद्ध अर्कै विषयमा महाअभियोग लगाइएको थियो । ट्रम्पमाथि आरोप थियो कि उनले राजनैतिक प्रतिद्वन्द्वी जो बाइडेनमाथि जाँच सुरु गर्नको लागि युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलाई दबाब दिएका थिए । ट्रम्पले भने यो आरोप अस्वीकार गर्दै आएका छन् ।

डिसेम्बर २०१९ मा डेमोक्रेट्सको बहुमत रहेको हाउस अफ रिप्रेजेन्टेटिभमा उनीविरुद्ध महाअभियोगको प्रक्रिया चलाइयो तर फेब्रुअरी २०२० मा रिपब्लिकन्सको बहुमत भएको सिनेटले उनलाई अपराधमुक्त गरिदियो । डोनाल्ड ट्रम्प तेस्रो यस्ता अमेरिकी राष्ट्रपति हुन् जसले महाअभियोगको सामना गर्नुपर्यो ।

स्थानीय र संघीय आरोप

राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पले संघीय कानुनको उल्लंघनको विषयमा आफूलाई माफ गर्न सक्छन् तर अमेरिकाको इतिहासमा यस्तो स्थिति कहिल्यै आएको छैन । यद्यपि यो अवश्य देखिएको छ कि कुनै राष्ट्रपतिमाथि पदबाट हटेपछि आपराधिक मुद्दा चल्ने सम्भावना हुँदाहुँदै नयाँ राष्ट्रपतिले उनलाई माफी दिए । यस्तो १९७४ मा भएको थियो जब पूर्व अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले वाटरगेट काण्डपछि राजीनामा दिएका थिए । त्यसपछि उनको सरकारमा उपराष्ट्रपति रहेका गेराल्ड फोर्ड राष्ट्रपति बने र निक्सनलाई पूर्ण माफी दिए ।

कन्जरभेटिभ पोलिटिकल रिसर्च सेन्टर अमेरिकन इन्टरप्राइज इन्स्टिच्युटका विशेषज्ञ नर्मन अर्नस्टिन भन्छन् ‘डोनाल्ड ट्रम्पमाथि संघीय आरोप लाग्ने धेरै कम सम्भावना छ किनकि हुन सक्छ उनले आफैंलाई माफी दिन सक्छन् । तर, चुनाब हारेको स्थितिमा उनले आफैंलाई माफी दिन सक्ने छैनन् । यस्तोमा जानकारहरुका अनुसार एक अति काल्पनिक स्थितिमा सम्भव छ कि डोनाल्ड ट्रम्पले २० जनवरी २०२१ मा आफ्नो कार्यकाल पूरा हुनुभन्दा पहिल्यै राजीनामा दिउन् र हालका उपराष्ट्रपति माइक पेन्सलाई राष्ट्रपति बनाउन् । त्यसपछि माइक पेन्सले ट्रम्पलाई संघीय अपराधको लागि माफी दिन सक्छन् ।

ब्यानेट गर्शम्यानका अनुसार अमेरिकी मिडियामा यी अड्कल पनि छन् कि डोनाल्ड ट्रम्पलाई संघीय आरोपका अलावा स्थानीय स्तरमा पनि आपराधिक आरोप झेल्नु पर्न सक्छ । उनीमाथि राष्ट्रपति बन्नुभन्दा पहिले रियलस्टेटको कारोबारमा गडबडी गरेको आरोप छ । स्थानीय स्तरका मुद्दामा संघीय मुद्दामा जस्तो माफी दिन सकिँदैन ।

एक राजनीतिक फैसला

विशेषज्ञका अनुसार प्रशासनले प्रमाण हुँदा पनि डोनाल्ड ट्रम्पविरुद्ध कुनै कारवाही गर्छ भन्ने जरुरी छैन । यो एक राजनैतिक फैसला हुन सक्छ । वाटरगेट काण्डको मुद्दामा पनि यसकारले यो निर्णय गरेको थियो कि रिचर्ड निक्सनमाथि मुद्दा चलाउँदा वाटरगेट काण्ड लम्बिँदै जानेछ । यस्तो नहोस् भन्नका लागि उनलाई माफी दिइयो ।

यस सम्बन्धमा ६ अगष्टमा एक साक्षात्कारमा जो बाइडेनले भनेका थिए कि यदि उनी राष्ट्रपति बने भने उनी डोनाल्ड ट्रम्पविरुद्ध आपराधिक प्रक्रियाको न विरोध गर्नेछन् र त्यसलाई बढावा दिनेछन् । उनले यो निर्णय पूर्ण रुपमा न्याय विभागमाथि छोडिदिनेछन् । ब्यानेट गर्शम्यानका अनुसार यसअघिका मुद्दाका कारण सुनुवाइ सुरु हुन महिनौंदेखि वर्षौं लाग्न सक्छ ।

जानकारहरुका अनुसार यदि ट्रम्प उनीमाथि लागेका आरोपमा दोषी पाइए भने उनलाई वर्षौंसम्मको जेल सजाय हुन सक्छ । नर्मन अर्नस्टिनलाई लाग्छ कि न्यूयोर्कका अभियोक्ता डोनाल्ड ट्रम्पविरुद्ध आफ्नो जाँचलाई जारी राख्नेछन् । यस समय ट्रम्पको स्थिति कमजोर छ र उनी यो कुराबारे जानकार छन् ।

बीबीसीबाट अनुवादित




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *