नेपाल–भारत सम्बन्धमा न्यानोपनको संकेत, भारतीय विदेश सचिव नेपाल आउँदै

डिसी नेपाल
२५ कार्तिक २०७७ ०:५८

काठमाडौं। भारतीय थलसेना प्रमुखले नेपाल भ्रमण गरेर फर्के लगत्तै भारतीय विदेश सचिवको नेपाल भ्रमण तय भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सले भारतीय विदेश सचिब हर्ष वर्धन श्रंगला यही नोभेम्बर २६ मा नेपालको भ्रमण गर्ने जनाएको छ।

हिन्दुस्तान टाइम्सका अनुसार श्रंगल दुईदिने भ्रमणका लागि काठमाडौं आउने छन्। नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीवकुमार ज्ञवालीसँग शिष्टाचार भेट गर्ने र परराष्ट्र सचिव भरतराज पौड्यालसँग द्विपक्षीय वार्ता गर्ने हिन्दुस्तान टाइम्सले जनाएको छ।

तर, उनको भ्रमणबारे नेपालीय अधिकारीहरुले भने केही बताएका छैनन्। गत वर्ष भारतले नेपाली भूमिसहितको नक्सा प्रकाशित भएपछि दुईदेशबीच शुरु भएको विवाद नेपालले गत वैशाखमा नयाँ नक्सा जारी गर्दै भारतले कब्जा गरेको भूमि नेपाली नक्सामा समेटेपछि झन बढेको थियो।

यो विषयमा नेपालले भारतसँग पटक पटक वार्ताको पहल गर्दा पनि भारतले वार्ताप्रति चासो देखाएको थिएन। तर, पछिल्ला दिनहरुमा भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त कुमार गोयल र भारतीय सेना प्रमुख मनोजमुकुन्द नरवणेको भ्रमणपछि विदेश सचिवको भ्रमण हुन लाग्नुले नेपाल–भारत सम्बन्ध पूर्ववत अवस्थामा फर्कने संकेत देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *