‘शिक्षामा फड्को मार्ने अवसरबाट सरकार चुक्यो’

तर्कबहादुर थापा
२५ कार्तिक २०७७ ११:१०

काठमाडौं। ‘वास्तवमा स्कुलमा पढे जस्तो अनलाईन पढ्दा नहुने रहेछ।’ बेलुकीको समय उपयोग गर्दै विद्यार्थीहरु चियापसलमा भेला हुन्छन् र गफ गर्छन। ‘हाम्रो त राम्रै भएको छ यार, केही फरक छैन।’ अर्को विद्यालयको उनीहरुको साथीले आफ्नो धारण राख्छन्।

राजधानी काठमाडौंको एक निजी विद्यालय कक्षा १० मा अध्ययनरत विवेक कार्की र उनका साथीहरुको कुराकानी हो यो। उनले असारदेखि आफूले जुममार्फत पढाई गर्दै आएको बताए। ‘हाम्रो सबै पढाई अनलाइनबाट नै भएको छ। जुमबाट नै पढ्दै आएका छौं।’

सबै विषयहरु जुमबाट पढाई भए पनि विद्यालयमा गएर पढेजस्तो नहुने उनको तर्क छ। उनले भने, ‘टिचरहरुलाई आफ्नै अगाडि उभिएको देख्दा आफूलाई पढाईमा समर्पित गर्न सकिन्थ्यो। उहाँहरुको डरले पनि पढाइ भन्दा दायाँ बायाँ मन जान्थेन्। घरबाट पढ्दा त्यो अलि गाह्रो हुने रहेछ।’

विद्यार्थीहरुले जुममा पढाई भइरहेको अवस्थामा भिडियो अफ गरेर पढाई छोड्ने गरेको अविभावकहरुको गुनासो रहेको छ। उनीहरुका अनुसार आफू अगाडि भएसम्म जुमकै अगाडि हुने, तर आफू नहुँदा जुमलाई ‘म्यूट’ गरेर आफ्नै तालमा विद्यार्थी रमाउने समस्या भएको बताए।

जुमबाट पढाई रहेका शिक्षकहरुले भने हरेक विद्यार्थीलाई बेला बेलामा बोलाउने गरेका कारण समस्या नभएको बताएका छन्। ‘विद्यालयमा पढाए झैं हामीले हरेक विद्यार्थीलाई भिडियो अन मै राखेर पढ्न आग्रह गर्छौं र उनीहरुलाई बेलाबेलामा प्रश्नोत्तरमा पनि सहभागी गराउने गरेका छौं’, निजी विद्यालयका एक शिक्षकले डिसी नेपाललाई भने।

केही प्रतिनिधि समस्या र राम्रा कुरा भएपनि सरकारले शिक्षाका क्षेत्रमा जुन फड्को मार्न सक्थ्यो त्यो अवसर गुमाएको शिक्षाविद् डा. विद्यानाथ कोइरालाको भनाइ छ। डिसी नेपालसँगको कुराकानीमा उनले भने, ‘कतै राम्रा कतै नराम्रा पक्षहरु त होलान। तर, सरकारले शिक्षा क्षेत्रमा विकास गर्न सकिने अवसर आएको थियो त्यो गुमाएको छ।’

कतिपय शिक्षकहरुले कापीमा लेखेर विद्यार्थीको घरघरमा गएर पनि पढाइरहेको डा. कोइरालाको भनाइ थियो। उनका अनुसार सरकारले शिक्षकलाई शिक्षाका निमित्त आह्वान नै गरेको छैन।

डा. कोइरालाले भने, ‘नेपालका विद्यार्थी संघ संगठनका नेता भन्नुस्, शिक्षक संघ संघठनका नेता भन्नुस्, रानजीतिक दलका नेता भन्नुस्, अहिलेसम्म कसैले शिक्षकलाई शिक्षाका निमित्त आग्रह गरेको छ। जसरी ढुङ्गा हान्न, जसरी विद्रोह गर्न विद्यार्थी र शिक्षकलाई उठाए, सडकमा ल्याए, अहिले यसरी विद्यार्थीको भविश्यको बारेमा बोलेको सुन्नु भा छ। देख्नु भाछ। अनि कसरी प्रभावकारी बनोस पढाइ।’

सरकार शिक्षाका लागि गम्भिर नभएको आरोप डा. कोइरालाले लगाएका छन्। उनले भने, ‘हामीसँग अनेकौं क्षमता भएका शिक्षकसाथीहरु हुनु हुन्छ। उहाँहरुको हरेकको सिकाउने तरिका फरक फरक छ। खै यस्तो बिशम परिस्थितिका बेला विद्यार्थी सिकाइको राम्रो सुत्र बनाउने शिक्षकलाई सम्मान गर्छौं भनेको। सरकारले शिक्षकहरुलाई उत्प्रेरण दिएको खै? सरकारले शिक्षकलाई तपाईँले तलब खानु भएको छ। विद्यार्थीलाई पढाउने जिम्मेवारी तपाईँको हो भन्ने आभास गराएको खै ? यसैले मेरो विचारमा सरकार शिक्षा क्षेत्रमा गम्भिर छैन।’

सिकाईका आफ्ना आफ्ना तरिका हुने भन्दै डा. कोइरालाले हामीले चाहेको भए अबको युग सुहाउँदो शिक्षा नीति र विधि बनाउन सकिने बताए। हामीसँग भएको स्रोत र साधनलाई प्रायोग गरेको भए अन्य समयको भन्दा विद्याथीलाई बढी जान्ने बनाउने अवसर आएको उनको भनाइ छ।

उनले भने, ‘एउटा विद्यार्थीले रेडियोमा पढ्छ। सोही विद्यार्थीले टेलिभिजनमा पनि पढ्छ। अझ बुझेन भने उसले शिक्षकसँग जुममा पनि पढेको छ। यतिधेरै अवसर छन्। सरकारले यो अवसरलाई उपयोग गरेको खै? शिक्षकहरुले पनि सरकारले कुनै उपाए लगाउला र हामी त्यही अनुसार गरौंला भनेर बस्ने हैन्। यो बेलामा आफ्नो कला प्रस्फुटन गर्ने बेला थियो।’

कोरोनाका कारण लामो समयदेखि विद्यालय बन्द रहेका छन्। गत वर्षको चैत्र महिनामा एइईलाई समेत स्थगित गरी बन्द भएका विद्यालयहरु अझै खुल्न सकेका छैनन्। सामान्यतः बैशाखदेखि सुरुहुने शैशिक्ष सत्र यो वर्ष अन्यौलमा रहेको छ। विद्यालयले विद्यार्थीको पढाई र मुल्याङ्कन अनलाईनको माध्यामबाट गरिरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *