सुदूरपश्चिममा सघन उपचार कक्षको कमी

डिसी नेपाल
२५ कार्तिक २०७७ २१:१३

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा पछिल्लो केही समययता कोरोना भाइरसबाट सङ्क्रमित बिरामीमध्ये गम्भीर लक्षणसहितका बिरामीहरु बढिरहेको भएपनि यहाँ सघन उपचार कक्षलगायतका पूर्वाधारहरुको कमी देखिन थालेको छ । सुदूरपश्चिम प्रदेशमा रहेका २३ वटा आइसियु शय्या र १७ वटा भेन्टिलेटर गम्भीर खालका बिरामीले भरिन थालेपछि नयाँ बिरामीलाई समस्या हुने देखिएको छ ।

सात पहाडी जिल्लामध्ये डडेल्धुरामा दुई वटा भेन्टिरलेटर रहेपनि बाँकी छ जिल्लामा आइसियु र भेन्टिलेटर छैन । प्रदेशकै कोरोना अस्पतालका रुपमा घोषणा गरेर सङ्क्रमितहरुको उपचारमा सक्रिय सेती प्रादेशिक अस्पतालले व्यवस्थान गरिरहेको ५० शय्याको कोरोना अस्पतालमा बिरामीहरु भरिएका छन् ।

आजसम्म गम्भीर लक्षण देखिएका १७ जनाको आइसियुमा उपचार भइरहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ स्रोत व्यक्ति हेमराज जोहीले बताए । उनले प्रदेश सरकारले पनि २० वटा थप भेन्टिरलेटर खरिद गरी हरेक जिल्ला अस्पतालमा दुई÷दुई वटाका दरले जडानको प्रक्रियामा रहेको जानकारी दिए । उनले तत्काल बिरामीको अवस्था हेर्दा आइसियु बेड थप्नुपर्ने आवश्यकता देखिएको बताए।

हाल धनगढीस्थित ५० शय्याको अस्थायी अस्पतालमा ४८ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । अस्पतालमा भर्ना भएकामध्ये सबैभन्दा कैलालीका ३७ जना, कञ्चनपुरका चार, अछाम र डडेल्धुराका दुई÷दुई र बझाङ्ग, दार्चुला र बैतडीका एक÷एक जना कोरोना सङ्क्रमितको धनगढीमा उपचार भइहरहेको छ ।

हाल १० हजार १५४ जना सङ्क्रमित रहेको सुदूरपश्चिम प्रदेशमा आठ हजार ४८५ जना निको भएर घर फर्किसकेका छन् । महेन्द्रनगरस्थित महाकाली अस्पतालमा पिसीआर विधिबाट कोरोना जाँचका लागि मेसिन खरिद गरिएको भएपनि सञ्चालनमा आउन सकेको छैन । सुदूरपश्चिममा धनगढी, डोटी, डडेल्धुरा, बैतडी र बझाङ्गमा पिसीआर विधिबाट हरेक दिन कोरोना परीक्षण हुदै आएको छ । कोरोना सङ्क्रमणबाट सुदूरपश्चिममा हालसम्म २७ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *