अदानचुलीले बाँढ्यो २४० सुधारिएका चुल्हाे

डिसी नेपाल
२८ कार्तिक २०७७ ८:१०

सिमिकाेट । हुम्लाको अदानचुली गाउँपालिकाले २४० वटा सुधारिएका चुल्हा निःशुल्क वितरण गरेको छ। सरकारले अघि सारेको दिगो विकास लक्ष्यअनुसार गाउँपालिकालाई आगामी तीन वर्षभित्रमा धुँवारहित गाउँपालिका घोषणा गर्ने योजनाअनुसार वडा नम्बर १ का सबै घुरधुरीलाई पुग्ने गरेर सुधारिएको फलामे चुल्हो वितरण गरिएको गाउँपालिका अध्यक्ष दल फडेराले जानकारी दिए।

“परम्परागत चुल्होका कारण गाउँका महिलाहरुको स्वास्थ्यमा नराम्रो असर परेको पालिकाले गरेको अध्ययनले देखाएको छ”, अध्यक्ष फडेराले भने, “परम्परागत चुल्होमा खाना पकाउँदा महिलामा पर्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै वडा नम्बर १ कल्खेका तीन गाउँलाई हामीले धुवाँरहित चुल्हो वितरणको काम शुरु गरेका हौँ।”

गाउँपालिका, खानेपानी, सिँचाइ तथा जलस्रोत कार्यालय हुम्ला र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको संयुक्त पहलमा १ कल्खेका तीन गाउँबाट सुधारिएको चुल्हो वितरणको काम थालनी गरिएको वडा नं १ का वडाध्यक्ष रग्या थापाले जानकारी दिए। पालिकाकले हरेक वर्ष विनियोजन गरेको वडाको बजेटलाई विभिन्न निकायसँगको सहकार्यमा सुधारिएका चुल्हो खरिद गर्ने कार्यलाई अघि बढाएको उनले बताए। वडाका सबै घरलाई धुवाँरहित चुल्हो वितरण गरेर निकट भविष्यमै धुवाँरहित वडा घोषणा गर्ने उनको भनाइ थियो।

गत आर्थिक वर्ष ०७६/०७७ को वार्षिक कार्यक्रमबाट रु पाँच लाख र खानेपानी, सिँचाइ तथा जलस्रोत कार्यालयको रु पाँच लाख ५० हजारबाट चुल्हो खरिद गरिएको उनले जानकारी दिए। अपुग रकम चालु आर्थिक वर्षको कार्यक्रमबाट व्यवस्था गरिने उनले बताए।

प्रतिचुल्हो खरिदमा रु नौ हजार पर्ने भए पनि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ५० प्रतिशत ९ रु चार हजार ५००० अनुदानमा उक्त चुल्हो खरिद गरिएको हो। काठमाडौँमा तयार भएका चुल्हो सुर्खेतबाट बाजुरा हुँदै स्थलमार्गबाट बुधबार अदानचुली पुर्याइएको हो।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *