प्रचण्डको प्रतिवेदनको काउण्टर प्रतिवेदन तयार पार्दै ओली
काठमाडौं। सत्तारुढ नेकपामा यतिबेला आन्तरिक विवाद उत्कर्षमा छ। गएको शुक्रबार एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि संगीन आरोप लगाउँदै एकल राजनीतिक प्रतिवेदन पेश गरेपछि नेकपाको विवाद झन् गहिरिएको छ।
राजनीतिक प्रतिवेदन पेशपछि ओली निकटका नेताहरुले त्यसलाई अराजनीतिक प्रतिवेदन र झुटको पुलिन्दा भन्दै फिर्ता लिनुपर्ने बताइरहेका छन्। स्वयम् ओली पनि वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमसँगको भेटमा प्रतिवेदनको जवाफ नदिने बताएको अपुष्ट खबरहरु बाहिरिएका थिए।
तर, भाइटीका सकिएसँगै प्रधानमन्त्री ओलीले प्रचण्डको प्रतिवेदनको काउण्टर प्रतिवेदन तयारीमा लागेको उनी निकट स्रंोतले बताएको छ। बालुवाटार स्रोतका अनुसार प्रचण्डले लगाएका आरोपमाथि ओली बुँदागत रुपमै खण्डन गरी योबीचमा प्रचण्ड समूहले गरेका विभिन्न भेटघाट तथा गतिविधिको सूचीसमेत प्रस्तुत गर्ने छन्।
पत्यारै नलाग्ने र अचम्म लाग्ने संगीन आरोप लगाएपछि त्यसका जवाफ नदिइ बस्ने प्रश्नै आउँदैन, हामीलाई आधारहीन आरोप लगाउने समूहले कोसँग कति बेला भेट गरेको छ भन्ने प्रमाण हामीसँग छ। आवश्यक परे त्यसो जानकारी पनि दिन सकिन्छ।
स्रोतले भन्यो, ‘ओली सरकार ढाल्न देशीविदेशी शक्तिहरुसँग उहाँहरुले (प्रचण्ड–माधव नेपाल) के छलफल गर्नुभएको सबै प्रमाण छ, त्यो पनि प्रधानमन्त्रीको प्रतिवेदन समावेस हुन्छ।’
‘पत्यारै नलाग्ने र अचम्म लाग्ने संगीन आरोप लगाएपछि त्यसका जवाफ नदिइ बस्ने प्रश्नै आउँदैन,’ प्रधानमन्त्री ओली निकट उच्च स्रोतले डिसी नेपालसँग भन्यो, ‘हामीलाई आधारहीन आरोप लगाउने समूहले कोसँग कति बेला भेट गरेको छ भन्ने प्रमाण हामीसँग छ। आवश्यक परे त्यसो जानकारी पनि दिन सकिन्छ।’
प्रचण्डले प्रतिवेदनमा भारतीय गुप्तचर एजेन्सी रिसर्च एण्ड एनालाइसिस विङ (रअ)का प्रमुख सामन्तकुमार गोयलसँगको भेटलाई राष्ट्रमाथिको घात भन्दै ओलीलाई देखावटी राष्ट्रवादी भनेका छन्।
प्रधानमन्त्री ओलीले गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत रहेको बताउँदै आएका छन्। स्रोतका अनुसार ओलीले काउण्टर प्रतिवेदनमा यो विषयलाई खण्डन गर्दै प्रचण्ड–माधव नेपालले विदेशीसँग भेटेको विषय पनि समावेस गर्ने तयारी गरेका छन्।
स्रोतले बुधबारका लागि तोकिएको पार्टी सचिवलाय बैठक भने सर्ने सम्भावना रहेको बताएको छ। ओलीले प्रतिवेदन तयार गर्न केही दिन लगाउने सम्भावना रहेको भन्दै ओलीको प्रतिवेदन तयार नभएसम्म सचिवालय बैठक बस्ने सम्भावना कम रहेको छ।
उता मंगलबार बिहानै महासचिब विष्णु पौडेलले प्रचण्डलाई खुमलटार पुगेर भेटेका छन्। प्रचण्डलाई भेटेपछि पौडेल बालुवाटार पुगेका छन्। दुवै अध्यक्षसँगको परामर्शपछि दुवै अध्यक्षको सहमतिमा सचिवालय बैठक बोलाउने बताइएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment