छठले सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना प्रगाढ बनाउने राष्ट्रपतिको विश्वास
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत विभेद अन्त्य गरी समतामूलक, प्रगतिशील, सभ्य र समुन्नत समाज निर्माण गर्नेतर्फ अग्रसर हुन प्रेरणा दिने विश्वास व्यक्त गरेकी छन्।
छठ पर्व, २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुका लागि शुभकामना व्यक्त गर्दै उनले विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ को बढ्दो सङ्क्रमणबाट जोगिन पूर्वसावधानीका उपायको पालना गर्दै मनाउन सबैमा आह्वान गरेकी छन्।
छठले मौलिक संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गर्दै सबै नेपालीमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई प्रगाढ बनाउनाका साथै राष्ट्रिय एकतालाई थप सुदृढ गर्ने विश्वाुस पनि उनले व्यक्त गरेकी छन्।
नेपालको विशेषगरी तराई तथा मधेश क्षेत्रमा मनाइने छठ पर्व हाल काठमाडौँ उपत्यकालगायत अन्य पहाडी तथा हिमाली जिल्लाहमा समेत हर्षोल्लासका साथ मनाइन्छ ।कार्तिक शुक्ल चतुर्थीदेखि पञ्च मी, षष्ठी र सप्तमीका दिनसम्म नदी, तालतलैया वा पोखरीका किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अर्घ्य दिएर यो चाड मनाइन्छ । यस पर्वमा सूर्य देवता र छठी माताको पूजार्चना गरी छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने,समाज र परिवारको कल्याण हुने तथा आफ्ना सम्पूर्ण कष्ट हटेर जाने जनविश्वास छ। रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment