बालिका बलात्कार अभियोगमा दुई पक्राउ

डिसी नेपाल
६ मंसिर २०७७ १७:५९

परासी । बालिका बलात्कार गरेको अभियोगमा नवलपरासी (बर्दघाट सुस्तापश्चिम)प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । पन्ध्र वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा कृष्ण गुप्ता र किसन केवट रहेको जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए।

कात्तिक २७ गते रातिको समयमा बालिका धारामा पानी लिन गएका बेला बलात्कारमा परेको उनले बताए। पक्राउ परेका व्यक्तिले बालिकाको मुख थुनेर घरभन्दा केही दूरीमा रहेको बगैँचमा लगेर बलात्कार गरेको पीडितकी आमाले बताइन् ।

किटानी जाहेरीका आधारमा दुई पुरुषलाई नियन्त्रणमा लिएर म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यस्तै सुतिरहेकी महिलाको कोठामा प्रवेश गरी बलात्कार प्रयास गरेको आरोपमा सप्तरी प्रहरीले सप्तरीको खडक नगरपालिकाका २८ वर्षीय मनिषकुमार चौधरीलाई आज पक्राउ गरेको छ ।

ढोकाको माथिको थोरै खुला ठाउँबाट पीडित सुतेको कोठाभित्र प्रवेश गरेका आरोपितले निन्द्रामा रहेका बेला बलात्कार प्रयास गरेको पीडितले आरोप लगाएकी छन् ।

गत कात्तिक २९ गते राति घटना भएको भन्दै कात्तिक ३० गते पीडितले उजुरी दिएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक धर्मराज मुडभरीका अनुसार एक साताको आवश्यक अनुसन्धानपश्चात उजुरी दर्ता गरी आरोपितलाई पक्राउ गरिएको छ ।

पीडितको गजेन्द्रनारायण सिंह अस्पतालमा शुक्रबार स्वास्थ्य परीक्षण भएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *