अझै सफा हुन सकेन वाग्मती

डिसी नेपाल
६ मंसिर २०७७ २१:५६

काठमाडौँ । वाग्मती सफाइ महाभियान शुरु भएको ४०० हप्ता हुन लागे पनि नदीमा फोहर गर्ने क्रम भने रोकिएको छैन ।

पशुपति क्षेत्रको गौरीघाट, शङ्खमूललगायत सांस्कृतिकस्थलमा फोहर जम्मा भए पनि सरोकार भएका निकाय मौन बसेको सफाइ अभियानकर्मीको गुनासो छ ।

अभियानकर्मीले सफा गरिरहने र फोहर फाल्नेले फालिरहने हो भने वाग्मती सधैँ प्रदूषित नै हुने छ । अभियानकर्मी चक्रबहादुर चन्द शङ्खमूल क्षेत्रमा फोहर बढ्न थालेको बताउँछन् ।

सफाइमा स्थानीय सरकारले आवश्यकतानुसार ध्यान नदिएको अभियानकर्मीको गुनासो छ ।

पशुपति क्षेत्रको आर्यघाटबाट बगाइएको बाँसका लाँक्रा तीनकुने आलोकनगरसम्म पुग्न थालेको छ । आलोकनगर सफाइ अभियानकर्मी प्रमिला पौडेल कोरोनाका कारण सफाइ अभियानमा पहिलेभन्दा कम सहभागिता जुट्न थालेपछि फोहर बढ्न थालेको स्वीकार्छीन् ।
फलस्वरुप नदीमा कालो पानी बग्न थालेको छ ।

वाग्मती सफाइ महाभियानको ३९३औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रको सफाइ अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य एवं अभियानकर्मी माला खरेलको नेतृत्वमा सम्पन्न भएको छ ।

पशुपति भष्मेश्वर घाट क्षेत्रमा सफाइ गरिएको उनले बताइन् ।

यसैगरी शङ्खमूल क्षेत्रमा वाग्मती मनोहरा दोभान र बुद्धनगर सत्य साइबाबा उद्यान क्षेत्रमा सफाइ गरिएको छ ।

यस क्षेत्रको नदी किनारका दायाँबायाँमा रहेका घर, पसल, ग्यारेज व्यवसायीलगायतलाई जनचेतनामूलक अभियानसहित फोहर टिपेर कुहिने र नकुहिनेमा वर्गीकरणका साथ व्यवस्थापन गरिएको अभियानकर्मी डा लक्ष्मी पौडेलले जानकारी दिइन् ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको ३५३औँ हप्तामा जोरपाटी क्षेत्रको नदी किनारमा सफाइ गरिएको छ ।

कोरोना महामारी भए पनि सफाइ अभियानमा सहभागिता बढ्न थालेको वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए ।

विष्णुमती सफाइ अभियानको ३२२औँ हप्तामा काठमाडौँ महानगरपालिका–१७ स्थित शोभाभगवती खुसीबुँमा जम्मा भई छलफलसहित अर्को हप्ता शनिबारदेखि नदीमा स्काभेटर चलाएरै सफाइ गर्ने निर्णय भएको छ ।

महानगरका वडा नं १५, १६ र १७ मा जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिने निर्णय बैठकले गरेको अभियानकर्मी शोभाकान्त पाण्डेले जानकारी दिइन्।

मनोहरा सफाइ महाभियानको १९२औँ हप्तामा काठमाडौँ महानगरपालिका–३२ जडीबुटीस्थित कृषिबजारअघिको नदी किनारमा सफाइ गरिएको छ ।

सफाइबाट एक गाडी फोहर व्यवस्थापन गरिएको अभियानकर्मी चन्द्र दङ्गालले जानकारी दिए । सफाइमा करीब ५० अभियानकर्मीको सक्रियता थियो ।

ललितपुरको गोदावरी खोला सफाइ अभियानको ९०औँ हप्तामा खोलाका विभिन्न स्थानमा भौतिक दूरी कायम गर्दै सफाइ गरिएको छ ।

सबै क्षेत्रको सफाइ अभियान भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर सम्पन्न गरिएको जनाइएको छ ।

विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएपछि यसका सहायक नदीसहित देशका प्रमुख नदी एवं शहर गरी हालसम्म १०६ स्थानमा सफाइ अभियान शुरु भइसकेको छ ।

कोरोनाबाट बच्न गत वर्ष चैतमा बन्दाबन्दी जारी गरिएपछि भने सफाइ अभियानमा सुस्तता छाएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *