पाँडे र पौडेललाई भैरव पुरस्कार, जोरपाटी चोकमा भैरव अर्यालको शालिक राखिने

डिसी नेपाल
६ मंसिर २०७७ २२:४४

काठमाडौँ । नेपाली हाँस्यव्यङ्ग्य साहित्यका शिखरपुरुष भैरव अर्यालको स्मृतिमा स्थापित भैरव पुरस्कार र भैरव प्रतिभा पुरस्कार वर्ष २०७६र ७७ का लागि क्रमशः रामकुमार पाँँडे र राजाराम पौडेललाई प्रदान गरिएको छ ।

भैरव पुरस्कार गुठीले आज गोकर्णेश्वर–५ स्थित भैरव स्मृति भवनमा गरेको कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले पाँडे र पौडेललाई पुरस्कार वितरण गरेका हुन् ।

पुरस्कारको राशि क्रमशः एक लाख र ५० हजार रहेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख चालिसेले जोरपाटी चोकमा निर्माण गरिने नगरपालिकाको कार्यालय परिसरमा अर्यालको पूर्णकदको ढलोटको शालिक राखिने घोषणा गरेका छन् ।

पुरस्कृत स्रष्टा पाँँडे विदेशमा रहेकाले प्रतिनिधिको रूपमा उनको पुरस्कार ग्रहण गरेका डा यादव ढुङ्गानाले हाँस्यव्यङ्ग्य साहित्यमा पाँडेको योगदानको चर्चा गरे ।

वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठले पुरस्कृत स्रष्टा राजाराम पौडेल नेपाली हाँस्य कला क्षेत्रका अमूल्य निधि भएको बताए ।

वरिष्ठ साहित्यकार विजय चालिसेले नेपाली हाँस्यव्यङ्ग्य साहित्यलाई उर्वर बनाउने काम अर्यालले गरेको स्मरण गरे ।

चालिसे संयोजक तथा वरिष्ठ समालोचक प्रा डा खगेन्द्र लुइँटेल र व्यङ्ग्यकार लक्ष्मण गाम्नागे सदस्य रहेको चयन समितिको आधारलाई अनुमोदन गर्दै भैरव पुरस्कार गुठीले पाँडे र पौडेललाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

भैरव पुरस्कार गुठीका अध्यक्ष तथा वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा गुठीका सचिव वसन्त रिजालले विसं २०४६ देखि प्रत्येक दुई÷दुई वर्षमा यी पुरस्कार प्रदान गरिँदै आएकामा अब आगामी वर्षबाट वर्षेनी वितरण गरिने जानकारी दिए ।

कार्यक्रममा स्रष्टाहरु गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’, गोपालप्रसाद बराल, विमल अर्याल, उद्धव रायमाझीलगायतले नेपाली साहित्यमा अर्यालको योगदानबारे चर्चा गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *