यूएईमा ४१ युवा बिचल्ली पार्ने म्यानपावरविरुद्ध कारवाही प्रक्रिया अघि बढ्यो

डिसी नेपाल
८ मंसिर २०७७ १४:१३

काठमाडौं। आकर्षक तलबको लोभ देखाएर करोडौं रकम असुली गरी ४१ जना युवालाई यूएई पुर्‍याएर अलपत्र पार्ने म्यानपावरविरुद्ध वैदेशिक रोजगार विभागले कारवाही प्रक्रिया अघि बढाएको छ । विभागले काठमाडौंको बानेश्वरमा रहेको ओशो रिक्रुटिङ्ग एजेन्सी प्रालिको इजाजत रोक्का गरी आवश्यक छानविन तथा कारवाही प्रक्रिया अघि बढाएको विभागका महानिर्देशक कुमार दाहालले डिसी नेपाललाई जानकारी दिए।

‘विभागले ती युवालाई पठाउने म्यानपावर तथा त्यससँग सम्बन्धित रहेका व्यक्तिउपर आवश्यक अनुसन्धान गरिरहेको छ,’ उनले भने । ओशो रिक्रुटिङङ्ग म्यानपावरले आफूहरुको करोडौँ रुपैयाँ ठगी गरेको आरोप लगाउँदै ४१ जना युवाले वैदेशिक रोजगार विभागमा उजुरी गरेका थिए । उनीहरुले आफूहरुबाट जनही अढाइ लाखदेखि साढे ३ लाखसम्म असुलेको भन्दै विभागमा उजुरी गरेका थिए। भनेजस्तो काम नभएर फर्किएको ७ महिना बितिसक्दा पनि अहिलेसम्म ती युवाहरुले क्षतिपूर्ति पाउन सकेका छैनन्।

महानिर्देशक दाहालले विभागले यूएईस्थित नेपाली दूतावासलाई उनीहरुले त्यहाँ तलब पाए–नपाएको निश्चित गर्न पत्रचार गरिसकेको बताए । दूतावासबाट उनीहरुले त्यहाँ तलब नपाएको निश्चित भएमा सोहीअनुसार कानूनी प्रक्रिया अपनाएर कारवाही प्रक्रिया अघि बढाइने उनको भनाइ छ।

उनीहरु विभिन्न चरणमा ओशो रिकुटिङ्गमार्फत शारजाहको इमिरेट्स क्याव नामक ट्याक्सी कम्पनीमा ड्राइभिङ्ग कामको लागि पुगेका थिए। त्यहाँ पुगेपछि नेपालमा सम्झौता गरिएअनुसारको सेवा सुविधा नपाएपछि लकडाउनकै बीचमा ४१ जना युवाहरु नेपाल फर्किएका थिए। उनीहरुमध्ये कोही ६ महिनामै फर्किएका हुन् भने कोही १ वर्षसम्म बसेर फर्किएका हुन्।

नेपालमा उनीहरुसँग म्यानपावरले यूएईमा १५ सय दिराम तलब, दिनमा ८ घण्टा ड्यूटी र हप्तामा १ दिन विदा दिइने भनेर कागजी सम्झौता गरेको थियाे। म्यानपावरका कर्मचारी तथा एजेन्टले तलबबाहेक आकर्षक कमिशन आउने र मासिक डेढ लाखभन्दा बढी आम्दानी हुने आशा देखाएर ३ लाखभन्दा बढी रकम आफूहरुबाट लिएको उनीहरुको दावी छ । १५ सय दिराम तलब तथा ड्युटी गरेको आधारमा अलग्गै कमिशन आउने बताइए पनि त्यहाँ तलबको व्यवस्था नभएको उनीहरुको भनाइ छ । डुयूटी गरेवापत घण्टाको आधारमा कमिशन मात्रै आउने तर त्यो निकै कम आउने उनीहरुले गुनासो थियो।

समस्यामा परेपछि उद्धार गरिदिन भन्दै उनीहरु अबुधावीमा रहेको नेपाली दूतावासमा पुगेका थिए। खान बस्न पनि गाह्रो हुने अवस्था आएपछि उनीहरु लकडाउनकै बीचमा स्वदेश फर्किएका थिए । विभागकै पहलमा उनीहरुलाई उद्धार गरिएको दाहालले बताए । दाहालले भने, ‘विभागले दवाव दिएपछि उनीहरुलाई फर्किन म्यानपावरले हवाइ टिकट उपलब्ध गराएको थियो ।’

तर, पीडितहरुले भने फर्किनका लागि म्यानपावरले केहीलाई मात्रै टिकटको व्यवस्था गरिदिएको बताएका छन् । केहीलाई भने टिकट पनि उपलब्ध नगराएको उनीहरुको भनाइ छ। फर्किँनासाथ आफूहरु ठगीएको भनेर उजुरी गरे पनि अहिलेसम्म पनि ठोस कारवाही नभएको पीडितले दुखेसो पोखेका छन्।

यो पनि पढ्नुहोस्

यूएईमा डेढ लाख तलबको लोभ देखाएर साढे ३ लाखसम्म असुली, ४१ युवाको बिचल्ली

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *