दुई देशबीचको समस्या समाधान गर्न भारत सकारात्मक

डिसी नेपाल
१२ मंसिर २०७७ ६:२६

काठमाडौं। नेपाल र भारतको विदेश सचिवस्तरीय बैठक दुई देशबीच देखिएको समस्या समाधान गर्ने विषयमा केन्द्रित भएको छ । नेपालका परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा दुई दिने औपचारिक नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्धन शृंगलाले आपसी सहमतिमै दुई देशबीच देखिएको समस्या हल हुने बताएका छन् ।

विदेश सचिवस्तरीय बैठक सकेर बाहिरिने क्रममा भारतीय विदेश सचिव शृंगलाले छलफल एकदमै राम्रो भएको र दुई देशको समस्या समाधान गर्ने विषयमा केन्द्रित रहेको बताए । ‘वार्ता एकदमै उपलब्धिमूलक भयो,’ उनले भने, ‘वार्ताका एजेन्डा बृहत् रहेको छ ।’ उनले बैठकमा आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माणलगायतका विषयमा छलफल भएको जानकारी दिए ।

त्यस्तै भारतीय दूतावासले दुवै पक्षको थुप्रै द्विपक्षीय पहल र परियोजनामा भएको प्रगतिको सराहना गरेको जनाएको छ । ‘आपसी सहकार्यलाई अगाडि बढाउन थप कदम चाल्ने सहमति पनि भयो,’ दूतावासले भनेको छ ।

एक वर्षको अन्तरालपछि नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक सम्पन्न भएको हो । सो द्विपक्षीय बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रसचिव भरतराज पौडेलले र भारतीय टोलीको नेतृत्व शृंगलाले गरेका थिए ।

सचिव पौडेल नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिवद्वय सेवा लम्साल र यज्ञबहादुर हमाललगायत सहभागी थिए । साथै विदेशसचिव शृंगला नेतृत्वको टोलीमा भारतको बाह्य मामिला मन्त्रालय (उत्तर विभाग)का सहसचिव अरिन्दम बाग्ची, नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रालगायत यहाँस्थित भारतीय दूतावासका कर्मचारी सहभागी रहेको आजको राजधानी दैनिकमा खवर छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *