प्रचण्डको प्रस्ताव फिर्ता हुने ओलीलाई अझै आश, ओलीको प्रस्ताव संयमित

मदन कोइराला
१२ मंसिर २०७७ ११:४१

काठमाडौं। नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बस्ने नेकपा सचिवालय बैठकमा पेश गर्ने राजनीतिक प्रस्ताव तयार भएको छ।

बालुवाटार निकट स्रोतका अनुसार गएको कात्तिक २८ मा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीमाथि विभिन्न आरोप लगाउँदै पेश गरेको राजनीतिक प्रस्तावको जवाफ दिन ओलीले प्रतिउत्तर प्रस्ताव तयार पारेका हुन्।

प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई विभिन्न आरोप लगाउँदै १९ पृष्ठ लामो प्रतिवेदन पेश गरेपछि नेकपाभित्रका जारी विवाद उत्कर्षमा पुगेको छ। प्रधानमन्त्री ओलीले प्रतिवेदनमा माओवादी द्वन्द्वकालदेखि हालसम्मका विषयलाई समेतर प्रचण्डमाथि प्रहार गरेको स्रोतले जनाएको छ।

यद्यपी प्रधानमन्त्री ओलीले तयार पारेको प्रतिवेदन संशोधन हुने संभावना रहेको स्रोतले जनाएको छ। ‘हाम्रो पार्टीभित्र र बाहिर केही अतिवादी सोच राख्ने व्यक्तिले प्रधानमन्त्रीलाई उक्साएर पार्टी विभाजन गराउने खेल खेल्न खोजेको देखिन्छ,’ प्रधानमन्त्री निकट स्रोतले डिसी नेपालसँग भन्यो, ‘त्यसतर्फ प्रधानमन्त्री सचेत हुनुहुनछ र संयमित प्रतिवेदन आउँछ।’

प्रचण्डले लगाएको आरोपको जवाफ नदिने ती आरोप सत्यता रहेको भन्ने सन्देश जाने भएकाले प्रचण्डले लगाएको आरोपलाई सयंमित तरिकाले जवाफ दिने गरी प्रतिवेदन आउने ती नेताले दाबी गरे।

हाम्रो पार्टीभित्र र बाहिर केही अतिवादी सोच राख्ने व्यक्तिले प्रधानमन्त्रीलाई उक्साएर पार्टी विभाजन गराउने खेल खेल्न खोजेको देखिन्छ, त्यसतर्फ प्रधानमन्त्री सचेत हुनुहुनछ र संयमित प्रतिवेदन आउँछ।

‘नेकपाको विधानमा दुई अध्यक्षको सहमतिमा मात्रै कुनै पनि प्रस्ताव राख्ने चलन छ,’ ओली निकट ती नेताले भने, ‘प्रचण्ड कमरेडले त्यसो नगरी सचिवालयमा एकतर्फी प्रस्ताव गरेर त्यसको केही दिनपछि आफ्नो प्रस्तावका पुस्तिका तयार पारेर वितरण गरेपछि प्रधानमन्त्रीले त्यसको जवाफ लिने तयारी गर्नु भएको हो।’ तर प्रधानमन्त्रीले एकदमै शिष्ट र मर्यादित रुपमा जवाफ दिने उनको भनाइ थियो।

यो बीचमा दोस्रो तहका नेताहरुले प्रचण्डलाई राजनीतिक प्रतिवेदन फिर्ता लिन मनाउने कोशिश भए पनि प्रचण्डले अस्वीकार गरेपछि सहमतिको संभावना क्षिण हुँदै गएको छ।

स्रोतका अनुसार ओली पक्षले आज दिनभर प्रचण्डलाई प्रस्ताव फिर्ता लिन मनाउने र दुई अध्यक्षलाई संयुक्त प्रस्ताव लेख्न सुझाव दिने तयारी गरेको छ। प्रचण्डले प्रतिवेदन फिर्ता लिए ओलीले जवाफ दिनु नपर्ने र दुई अध्यक्षले संयुक्त प्रतिवेदन लेखेर अगाडि बढ्दा विवाद समाधान हुने सन्देश प्रचण्डकहाँ पुर्र्याएको छ। तर त्यसका लागि प्रचण्ड तयार भएका छैनन्।

प्रधानमन्त्री ओली समूहले सचिवालयमा आफ्नो बहुमत पुर्याउने र प्रचण्डले पेश गरेको प्रतिवेदन र ओलीले शनिबार पेश गर्ने प्रतिवेदनलाई सामान्य छलफल गराएर टुंग्याउने तयारी पनि गरेको छ।

त्यसका लागि नौ सदस्यीय सचिवालयमा आफ्नो पक्षमा पाँच सदस्य पु-याउने तयारी ओली समूहले थालेको छ। उपाध्यक्ष बामदेव गौतम र गृहमन्त्री रामबहादुर थापालाई आफ्नो पक्षमा ल्याउने प्रयास भइरहेको छ।

तर गौतम आफूलाई बारम्बार धोका दिएको भन्दै पछिल्लो समय ओलीसँग चिढिएका छन् भने थापाले पनि प्रचण्डको प्रतिवेदनलाई समर्थन गरेको बताइएको छ।

सचिवलाय विघटनको रणनीति
नेकपाको नौ सदस्यीय सचिवालयमा हालसम्म प्रचण्ड–माधव समूहमा ५ जना र ओली समूहमा ४ जना देखिएका छन्। हालसम्म प्रधानमन्त्री तथा अध्यक्ष ओली अल्पमतमा देखिएका छन्।

यदि शनिबारसम्म प्रचण्डले प्रस्ताव फिर्ता नलिने र आफ्नो पक्षमा बहुमत पनि नपुग्ने देखे प्रधानमन्त्री तथा अध्यक्ष ओलीले अर्को रणनीति अख्तियार गर्न सक्ने संकेत उनी निकट नेताहरुले दिएका छन्।  बालुवाटार निकट स्रोतका अनुसार ओलीको अर्को रणनीति भनेको सचिवालय असफल भएको भन्दै विघटनको प्रस्ताव गर्ने हो।

ओली निकट एक नेताले डिसी नेपालसँग भने, ‘अहिले पार्टीमा देखिएको सबै विवादको आधार सचिवालय हो। सचिवलायले प्रचण्डको प्रस्तावलाई अगाडि नबढाएको भए, यो समस्या त्यहीँ सकिन्थ्यो नि। सचिवालय त असफल बनेको छ। त्यसैले अबत ल तलका (स्थायी तथा केन्द्रीय सदस्यहरु) ले भने जस्तै सचिवालय विघटन गर्नुपर्ने हुनसक्छ।’

नेकपामा विवादका बीच एपी वन टेलिभिजनलाई दिएको अन्तर्वार्तामा ओलीले पुस्ताहस्तान्तरणको कुरा उठाएका थिए। मंसिर ३ गतेको सचिवालय बैठकमा महासचिव विष्णु पौडेलले सचिवलाय असफल भए, विघटन गर्नुपर्ने बताएका थिए। र नेकपामा पछिल्ला दिनहरुमा पुस्ताहस्तान्तरण र नयाँशिराबाट नेतृत्व चयनको बहस हुँदै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *