नेकपा विवादः प्रतिक्षा ओलीको प्रस्तावको

डिसी नेपाल
१२ मंसिर २०७७ १७:५६

काठमाडौं। सत्तारुढ नेकपामा चर्केको विवादका बीच शनिबार पार्टी सचिवलाय बैठक बस्दै छ। यहि मंसिर ३ गते बसेको सचिवलाय बैठकले तय गरेको मितिअनुसार शनिबार बैठक बस्न लागेको हो।

गएको कात्तिक २८ मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाउँदै राजनीतिक प्रस्ताव पेश गरेपछि आक्रोशित बनेका ओलीले मंसिर तीनमा आफूले पनि जवाफी पस्तावग ल्याउने र त्यसका लागि समय चाहिने भनेपछि १० दिनका लागि बैठक स्थगित गरेर १३ गतेको मिति तय गरिएको थियो।

यो १० दिनको अवधिलाई कूलिङ पिरियड भन्दै विवाद समाधानका लागि उपयोग गरिने नेताहरुले बताएका थिए। तर, शुक्रबार बेलुकासम्मको अवस्था हेर्दा विवाद समाधान भन्दा पनि थप चर्काउने गरी तयारी भएको घटनाक्रमले देखाउँछ।

नेकपाका दुई अध्यक्षबीच विवाद छ। र दुई अध्यक्षको विवादमा ९ सदस्यी सचिवालयका नेताहरु दुईतर्फ विभाजित छन्। ओली पक्षमा ४ र प्रचण्ड पक्षमा हालसम्म ५ जना छन्। त्यसैले शनिबारको बैठक प्रधानमन्त्री तथा अध्यक्ष ओलीका लागि सबैभन्दा अप्ठ्यारो हुने देखिएको छ।

यो १० दिनको अवधिलाई ओली समूहले आफ्नो बहुमत पुर्याउने र प्रचण्डलाई प्रस्ताव फिर्ता लिन लगाउनेमा खर्चिएको छ भने प्रचण्ड समूहले आफ्नो अडानलाई थप बलियो बनाउँदै लगेको छ। यो १० दिनको अवधिमा दुई अध्यक्षबीच सिधा कुराकानी नै भएन। जसले गर्दा १३ गतेको बैठक अगावै कुनै सहमति बन्ने आशामा रहेका नेकपा नेता तथा कार्यकर्ताहरु निराश बनेका छन्।

सिर्धा कुराकानी नभए पनि ओली निकट नेताहरुले प्रचण्डलाई भने भेटेका छन्। मंसिर ६ मा पार्टी मुख्यालय धुम्बाराहीमा संसदीय दलका उपनेता सुवास नेम्वाङ तथा महासचिब विष्णु पौडेलले प्रचण्डलाई भेटेर प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए। तर, प्रचण्डले उनीहरुको प्रस्ताव अस्वीकारमात्र गरेनन्, पुस्तिका नै बनाएर आफ्नो प्रस्तावलाई कार्यकर्ता तहमा वितरण गरेका छन्।

प्रचण्ड प्रस्ताव फिर्ता लिन तयार नभएपछि ओलीले पनि आफ्नो जवाफी प्रस्ताव तयार पारिसकेको बालुवाटार निकट स्रोतले बताएको छ। शनिबारको बैठकमा ओलीले जवाफी प्रतिवेदन पेश गर्ने सम्भावना रहेको उनी निकट स्रोतले बताएको छ।
प्रधानमन्त्री ओलीले सरकार र पार्टी दुबै राम्रोसाग नचलाएको भन्दै त्याग गर्नुपर्ने प्रचण्डको प्रस्ताव छ। र प्रधानमन्त्री ओलीले प्रचण्डले लगाएका आरोप प्रमाणित भए

आफूले छाड्ने प्रमाणित हुन नसके आरोप लगाउनेले जिम्मेवारी लिनुपर्ने बताइसकेका छन्। त्यसैले पनि नेकपाको विवाद कहाँ पुगेर टुंगिन्छ भन्ने शनिबारको बैठकले केही दिशा देखाउने नेकपाका नेताहरुले बताएका छन्।

डिसी नेपालसँग कुरा गर्दै नेकपा स्थायी कमिटी सदस्य बेदुराम भुसालले १३ गतेको बैठकमा अध्यक्ष तथा ओलीले प्रस्तुत गर्ने प्रस्तावपछिमात्र नेकपाको विवाद के हुन्छ भन्न मिल्ने बताए। उनले भने, ‘अध्यक्ष र प्रधानमन्त्री उहाँ (ओली) भएकाले उहाँले कस्तो प्रस्ताव ल्याउनुहुन्छ। त्यहिअनुसार पार्टी अगाडि बढ्छ।’
स्रोतका अनुसार ओलीको प्रस्ताव ‘नरम’ आउने सम्भावना छ। प्रचण्डभन्दा एक कदम अगाडि बढेर ओलीले प्रस्ताव ल्याउँदा पार्टी विभाजनतर्फ धकेलिने भन्दै ओली निकटहरुले नरम प्रस्तावका लागि पहल गरेको बताइएको छ।

तर, पनि शनिबार दिउँसो एक बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैकठमा ओलीले कस्तो प्रस्ताव ल्याउँछन्, नेकपा नेता तथा कार्यकर्ताहरुले प्रतिक्षा गरिरहेका छन्।

नेकपा केन्द्रीय सदस्य रामकुमार झाँक्रीले ट्वीटरमा लेखेकी छन्, ‘भोली सचिवालय बैठक अपेक्षा र प्रतिक्षा फरक फरक होलान।आज हाम्रा पार्टी सदस्यहरूको अपेक्षा भने ,पार्टी एकता र रूपान्तरण हो।यथास्थितिमा पार्टी अगाडि बढ्न सक्दैन तर पार्टी एकता टुट्ने कुरा पनि कदापी गर्न सकिँदैन। पार्टी नटुट्ने नाममा यस्तै पनि रहन सक्दैन।नेतृत्वगणलाई हार्दिक अपिल गर्दछु।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *