चीनका रक्षामन्त्री नेपाल भ्रमणका लागि आज काठमाडाैं आउँदै

डिसी नेपाल
१४ मंसिर २०७७ ६:४७

काठमाडाैं। उत्तरी छिमेकी मुलुक चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्ही नेपालको एक दिवसीय औपचारिक भ्रमणका लागि आइतबार काठमाडौँ आउँदै छन्। परराष्ट्र मन्त्रालयले उनी आइतबार काठमाडौँ आउने कार्यक्रम तय भएको जनाएको छ।

एक्काइस सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट आइतबार काठमाडौँ आइपुग्ने चिनियाँ रक्षामन्त्रीले ८ घण्टा काठमाडौँ बसाईमा राष्ट्रपति विद्यादेवी भण्डारी, रक्षामन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय वार्ता गर्नेछन् । परराष्ट्र मन्त्रालयले नेता वेइको यो भ्रमणई ‘कार्यगत’ भ्रमण भने पनि यसलाई सद्भावना भ्रमण भन्न सकिन्छ ।

उनी आइतबार साँझ नै स्वदेश फर्किने जानकारी दिइएको छ। नेपालको उत्तरी छिमेकी चीनबाट यस वर्ष हुन लागेको यो पहिलो उच्च स्तरीय भ्रमण हो।

अरनिको र भृकुटीले जोडेको युगौँ पुरानो नेपाल–चीन सम्बन्ध सन् १९५५ मा दुईमुलुकबीच कूटनीतिक सम्बन्ध कायम भएपछि निरन्तर मौलाउँदै गएको छ भने मैत्रीपूर्ण सहयोगको परम्परा र उच्चस्तरीय भ्रमण आदानप्रदानले पारस्परिक आत्मीयता अझ बढाएको छ।

कोभिड–१९ को महामारीकाबीच भइरहेको चिनियाँ रक्षामन्त्रीको भ्रमणले नेपाल बेइजिङको उच्च प्राथमिकतामा रहेको मात्र दर्शाउँदैन अपितु शान्तिपूर्ण सहअस्तित्वका हिमायति नेपाल र नेपालीप्रति अगाध स्नेह पनि झल्काउँछ ।

नेपाललाई अति कम विकसित मुलुकबाट स्तरोन्नति गरी सन् २०३० सम्ममा मध्यम आययुक्त मुलुक बनाउने तथा दिगो विकासका लक्ष्य प्राप्त गर्ने नेपालको विकासका ‘एजेण्डा’लाई टेवा दिने हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल संरचनाभित्र बन्दरगाह, सडक, रेलमार्ग, हवाई यातायात तथा सञ्चारजस्ता महत्वपूर्ण संरचना विस्तार गर्न ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’अन्तर्गत सहयोगका परियोजना कार्यान्वयन गर्ने सिलसिलामा छलफल गर्नु भ्रमणको उद्देश्य मान्न सकिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *