रोल्पामा दुईवटा बेवारिसे शव सडेको अवस्थामा भेटिए, अनुसन्धान भइरहेको प्रहरीको भनाइ

डिसी नेपाल
१४ मंसिर २०७७ १४:४८

काठमाडौं । रोल्पामा सडेको अवस्थामा २ दुईवटा शव फेला परेका छन्। जिल्लाको सुनिल स्मृति गाउँपालिका वडा नं. ४ जिया खोला किनारमा उनीहरुको शव फेला परेको रोल्पा प्रहरीले जानकारी दिएको छ।

प्रहरी नायव उपरीक्षक (डिएसपी) नरेशराज सुवेदीले मंसिर १२ गते राति खबर आएको र १३ गते मात्र मुचुल्का उठाएर जिल्ला अस्पताल रोल्पामा शवको पोष्टमार्टमा लागि पठाइएको जानकारी दिए। उनले डिसी नेपालसगँ भने, ‘हामीले मंसिर १२ गते राति शवहरु भएको जानकारी पाएका थियौं । राति भएकाले प्रहरीले केही गर्न सकेन । प्रहरीले शव भएको स्थानलाई आफ्नो निगरानीमा राख्यो । १३ गते मात्र शवको मचुल्का उठाएर पोष्ट मार्टमका लागि शव जिल्ला अस्पताल रोल्पामा पठाइएको छ ।’

डिएसपी सुवेदीका अनुसार घटनास्थल सदरमुकामदेखि ४३ किमी टाढा पर्छ । अहिले पोष्टमार्टमको लागि दुइवटै शव जिल्ला अस्पतालमा राखिएको छ।

सुवेदीले भने, ‘अहिले दुवै शव जिल्ला अस्पतालमै छन्। हामीले अनुमानको आधारमा शवको पहिचानका लागि आफन्त बोलाएका छौं। उहाँहरु आइपुग्ने बेला भयो। उहाँहरु आएर शव पहिचान भएपछि अरु जानकारी आउला। यदी शव पहिचान भएन भने प्रहरीले अर्को विकल्पको खोजी गर्छ।’
अहलेसम्म मान्छे हराएको कुनै पनि उजुरी नपरेकोले पनि डिएसपी सुवेदीले जानकारी दिए। उनका अनुसार शव अन्दाजी ३१ वर्षका र अर्का ४० वर्ष जतिका पुरुष रहेका छन्।

डिएसपी सुवेदीले भने, ‘शव सडेको अवस्थामा फेला परेका हुन्। पहिचान गर्न गाह्रो छ। घटनास्थलको प्रकृति हेर्दा अध्यारोमा आएका र खोल्सा छ भन्ने जानकारी नभएकाले उहाँहरु भिरबाट लडेको हुन सक्छ। झण्डै २०/२२ दिन पहिला उहाँहरुको मृत्यु भइसकेको हुनसक्छ। हामीले घटनास्थलमा टर्च र मोबाइल भेटाएका थियौं। अनुसन्धानको प्रारम्भिक आधार त्यहीबाट सुरु भएको छ।’

उनीहरुको हत्या भएको हो वा लडेर मृत्यु भएको हो भन्नेकुरा प्रहरीले अनुसन्धान गरिरहेको डिएसपी सुवेदीले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *