कोरोनाले वर्षभरीमा मरेका भन्दा धेरैले एक महिनामा आत्महत्या गरे

डिसी नेपाल
१४ मंसिर २०७७ १५:५२

काठमाडौं। कोरोनाभाइरसको दोस्रो लहर सुरु भएको छ । अहिले चिसो मौसम सुरु भएका देशहरुका कोरोनाको संक्रमण दर ह्वात्तै बढेको छ । कोरोनाभाइरसको संक्रमणका कारण विश्वभरी १४ लाख ५९ हजारभन्दा धेरैको ज्यान गएको छ । जापानका पनि यो भाइरसले २ हजारभन्दा धेरैको ज्यान लिइसकेको छ । तर, जापानमा २०२० सालभरीमा कोरोनाभाइरसका कारण जति मानिसको मृत्यु भयो त्योभन्दा धेरैले त अघिल्लो अक्टोबर महिनामा मात्र आत्महत्या गरेको तथ्यांक सार्वजनिक भएको छ ।

सीएनएनमा प्रकाशित रिपोर्टअनुसार गएको अक्टोबर महिनामा मात्र जापानमा २ हजार १५३ जनाले आत्महत्या गरेका छन् । जबकि जापानमा अहिलेसम्म कोरोनाभाइरसका कारण २ हजार ८७ जनाको मृत्यु भएको छ । अर्थात पूरै वर्षमा कोरोनाभाइरसका कारण जति मृत्यु भयो त्योभन्दा धेरैले एक महिनामा आत्महत्या गरेका छन् । जापान सरकारले यो तथ्यांक जारी गरेको हो । जापानको जनसंख्या करिब १२ करोड छ । यहाँ कोरोनाको कूल संक्रमण अहिलेसम्म १ लाख ४२ हजार पुगेको छ ।

रिपोर्टका अनुसार यहाँ कोरोना महामारीका कारण धेरै मानिसहरुको जीवन प्रभावित भएको छ । कोरोनाका कारण मानिसहरु तनावमा छन् र धेरैको पारिश्रमिक पनि कम गरिएको छ । विशेषज्ञले यहाँ कोरोना संकटका कारण मानसिक स्वास्थ्य संकट उत्पन्न हुन सक्ने चेतावनी दिएका छन् । यहाँ ठूलो संख्यामा मानिसहरु बेरोजगार हुन सक्ने, सामाजिक रुपमा पाखा पारिन सक्ने र एन्जाइटीबाट ग्रसिट मानिसहरुको संख्या बढ्न सक्ने समेत विशेषज्ञले चेतावनी दिएका छन् ।

जापान विश्वका ती सीमित देशहरुमध्ये एक हो जहाँ समयमै आत्महत्यासँग सम्बन्धित तथ्यांक जारी गरिन्छ । अमेरिकी सरकारले २०१८ पछि आत्महत्याको तथ्यांक सार्वजनिक गरेको छैन । विशेषज्ञहरुले जापानको यो तथ्यांकले अन्य देशको स्थितिबारे संकेत पनि पाइएको बताएका छन् । रोक्यो युनिभर्सिटीका प्रोफेसर तथा आत्महत्या विषयका विज्ञ मिशिको उएडाले भने ‘जापानमा लकडाउन पनि थिएन । यहाँ कोरोनाको प्रभाव अन्य देशको तुलनामा कम थियो । तैपनि आत्महत्याका केसहरुमा वृद्धि भएको छ । यसले यही संकेत गर्छ कि अन्य देशमा आत्महत्याको स्थिति योभन्दा पनि भयानक हुन सक्छ ।’

२०१९ सालमा वर्षभरीमा जापानमा कूल २० हजार जनाको मृत्यु आत्महत्याका कारण भएको थियो । गत वर्षको अक्टोबर महिनाको तुलनामा यस वर्षको अक्टोबर महिनामा आत्महत्याका केसको संख्यामा ८३ प्रतिशतले वृद्धि भएको छ । लैंगिक आधारमा पुरुषहरुको भन्दा महिलाको आत्महत्याको संख्या बढेको छ । पुरुषको आत्महत्यया संख्या मात्रै २२ प्रतिशतले बढेको छ । यसबाट महिलाहरुमा महामारीको असर धेरै परेको समेत विश्लेषण गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *