अफगानिस्तानमा कार बम आक्रमण, कैयौँ सुरक्षाकर्मीको मृत्यु

डिसी नेपाल
१४ मंसिर २०७७ १६:०६

बीबीसी। अफगानिस्तानको एउटा सैन्य शिविरमा गराइएको एउटा कार बम आक्रमणमा कम्तीमा ३० जना सुरक्षाकर्मीहरूको मृत्यु भएको छ।यो घटना देशको पूर्वमा पर्ने गजनी प्रान्तमा भएको हो। विस्फोटनमा २० जनाभन्दा बढी घाइते भएको विवरणमा जनाइएको छ।

यो अफगान सुरक्षाकर्मीमाथि पछिल्ला केही महिनायता गरिएका निकै घातकमध्येको एउटा आक्रमण हो। अफगानिस्तानकै जाबुलमा सवारीसाधनमाथि गरिएको एउटा छुट्टै बम हमलामा तीन जनाको ज्यान भएको छ।

प्रान्तीय परिषद्‌का प्रमुखलाई आक्रमणको निसाना बनाइएको थियो। घटनामा उनी जोगिन सफल भएका छन्। कतारको दोहामा अफगान सरकार र तालिबान लडाकु समूह बीचको शान्ति वार्तामा प्रगति हासिल गर्ने प्रयास हुँदाहुँदै अफगानिस्तानमा पछिल्लो समय हिंसा बढेको देखिएको छ।

आइतवार नै अफगान राष्ट्रपति अशरफ गनीले सरकारको तर्फबाट तालिबानसँग वार्ताका लागि जिम्मेवार निकायका प्रमुख डा. अब्दुल्लाह अब्दुल्लाहसँग छलफल गरेका छन्।

वार्तामा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा उनीहरूबीच कुराकानी भएको हो। छलफलमा पूर्वराष्ट्रपति हमिद करजाई पनि सहभागी थिए।सेप्टेम्बरमा औपचारिक रूपमा वार्ता आरम्भ भए पनि शान्तिवार्ताको ढाँचाबारे सहमतिमा पुग्न दुई पक्ष असफल भएका छन्।

करिब दुई साताअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाको सङ्ख्या कटौती गर्ने घोषणा गरेका थिए। त्यसपछि अमेरिकी रक्षा मन्त्रालयले अफगानिस्तान र इराकमा रहेका आफ्ना सेनाको सङ्ख्या २,५०० मा सीमित तुल्याइने पुष्टि गरेको थियो।

तर त्यो योजनालाई लिएर ट्रम्पकै दलका नेताहरूले सचेत गराइसकेका छन्। ट्रम्पले भने अमेरिकी सैन्य हस्तक्षेप खर्चिलो र प्रभावहीन भएको बताउँदै आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *