इरानी वैज्ञानिकको हत्याका लागि ६२ जनाको टोली परिचालन गरिएको खुलासा

डिसी नेपाल
१५ मंसिर २०७७ १४:३२

काठमाडौं। इरानका परमाणु वैज्ञानिक मोहसिन फखरिजादेहको हत्याको लागि ६२ जनाको टिम परिचालन भएको खुलासा भएको छ । फखरिजादेहको हत्याको लागि घटनास्थलमा १२ जना उच्च प्रशिक्षित बन्दूकधारीहरु पुगेका थिए भने अन्य ५० जनाले उनीहरुलाई अन्यत्र रहेर सहयोग गरिरहेका थिए । डेलीमेलको रिपोर्टअनुसार परिचालन गरिएका बन्दूकधारीहरुमध्ये २ जना स्नाइपर समेत थिए ।

शुक्रबार इरानका प्रमुख परमाणु वैज्ञानिक फखरिजादेहको राजधानी तेहरानमा हत्या गरिएको थियो । इरानले हत्याको आरोप इजरायलमाथि लगाएको छ । इजरायलले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन । रिपोर्टअनुसार इरानी पत्रकार मोहम्मद अहवाजेले लिक भएका दस्तावेजको आधारमा हत्याको योजनाबारे खुलासा गरेका हुन् । इरानको रक्षा मन्त्रालयको रिसर्च एण्ड इनोभेसन अर्गनाइजेसनका प्रमुख फखरिजादेशको हत्याको लागि राजमार्गको चोकमा १२ जना पुगेका थिए ।

रिपोर्टका अनुसार हत्याको लागि परिचालन गरिएका बन्दूकधारीहरुले आक्रमणको लागि विदेशमा विशेष प्रशिक्षण लिएका थिए । उनीहरु विदेशी सुरक्षा र खुफिया सेवासँग पनि सम्बनिधत थिए । आक्रमणकारीहरुले २ कार र ४ मोटरसाइकलको प्रयोग गरेका थिए । घटनाभन्दा केही अघि त्यस क्षेत्रको बिजुली पनि काटिएको थियो ।

फखरिजादेहको बुलेटप्रुफ कारसहितको टोली चोकनजिकै पुगेपछि त्यहाँ पहिलेदेखि नै राखिएको एक कारमा विष्फोट गरिएको थियो । फखरिजादेहलाई कारबाट बाहिर निकालेर पनि गोली हानिएको खुलासा भएको छ । घटनालगत्तै सबै आक्रमणकारी त्यहाँबाट फरार भएका थिए । रिपोर्टका अनुसार हत्याका लागि आएका १२ जनामध्ये कोही पनि घाइते भएका छैनन् र कोही पनि पक्राउ परेका छैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *