आफूलाई क्यान्सर भएको झुट बोलेर १३ लाख सहयोग उठाएर हनीमून गइन्, अब जेल जाँदै

डिसी नेपाल
१५ मंसिर २०७७ १५:१७

काठमाडौं। आफूले चाहेजस्तो गरी बिहे गरेर हनीमून जानको लागि एक युवतीले आफू क्यान्सरबाट पीडित भएको भनेर झुट बोलिन् । उनले आफ्ना साथीहरुसँग आफूलाई क्यान्सर भएको बताएपछि साथीहरुले पनि उनलाई सहयोग गरे । साथीहरुबाट उनले १३ लाख ३५ हजार रुपैयाँ सहयोग उठाएर बिहे गरिन् र हनीमून गइन् । अहिले झुटको पर्दाफाश भएपछि ती युवती जेल जाने भएकी छिन् ।

डेली मिररका अनुसार २९ वर्षकी ती युवतीले साथीहरुबाट पैसा ठग्नको लागि आफूलाई क्यान्सर भएको देखाउन आफ्नो कपाल समेत खौरिएकी थिइन् । टाउको मुण्डन गरेकी उनलाई देख्दा उनका साथीहरुले क्यान्सरका कारण उनको कपाल झरेको विश्वास गरेका थिए । उनले क्यान्सर पीडितको रुपमा पत्रिकाहरुमा अन्तरवार्ता पनि दिएकी थिइन् । अन्तरवार्तामा उनले क्यान्सर उनको दिमाग र हड्डीमा प्रवेश गरिसकेको समेत बताएकी थिइन् ।

यही २०२० को जनवरीमा ती युवतीले आफूसँग बाँच्नको लागि केवल २ महिना भएको बताएकी थिइन् । रिपोर्टअनुसार उनलाई क्यान्सर भएको थाहा पाएपछि उनका साथीहरुले सहयोग जम्मा गर्नको लागि अनलाइन अभियान पनि सुरु गरेका थिए । उनका साथी र अन्य व्यक्तिहरुले सहयोग दिएका थिए र कूल ८ हजार ५ सय पाउण्ड जम्मा भएको थियो । बेलायतको लिभरपुलको वेष्ट डर्बीकी टोनी स्टेन्डेन नामकी युवतीले यो सबै नाटक गरेकी थिइन् ।

उनले ५२ वर्षका जेम्ससँग बिहे गरेर हनीमूनको लागि टर्की गएकी थिइन् । खासमा टोनीका पिता वास्तवमै क्यान्सरपीडित थिए । बिहेको केही दिन पहिले उनको मृत्यु भएको थियो । टोनीले पछि आफूलाई कोरोना भएको झुट पनि बोलेकी थिइन् । यही क्रममा उनको क्यान्सर भएको झुटको पोल खुलेको थियो । गत हप्ता उनले अदालतमा आफ्नो अपराध स्वीकार गरेकी छिन् । उनका साथीहरुले यो घटनालाई निकै ठूलो धोका भएको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *