चीनले किम जोंग उन र उनको परिवारलाई कोरोनाभाइरस भ्याक्सिन दियो

डिसी नेपाल
१६ मंसिर २०७७ ११:१३

काठमाडौं। चीनले किम जोंग उन र उनको परिवारलाई आफ्नो कोरोनाभाइरस भ्याक्सिन दिएको एक अमेरिकी विश्लेषकले दुई अज्ञान जापानी इन्टेलिजेन्स स्रोतलाई उद्धृत गर्दै दावी गरेका छन् । वाशिङटनको सेन्टर फर नेशनल इन्ट्रेस्ट थिंक ट्यांकका उत्तर कोरिया विज्ञ ह्यारी कजियानिसले किम परिवार र कैयौं उत्तर कोरियाली बरिष्ठ अधिकारीहरुलाई भ्याक्सिन दिइएको बताएका छन् । कुन चिनियाँ कम्पनीले किम परिवारलाई भ्याक्सिन उपलब्ध गरायो र यो भ्याक्सिन कसरी सुरक्षित प्रमाणित भयो भन्ने स्पष्ट छैन ।

‘किम जोंग उन र अन्य कैयौं उच्च पदस्थ अधिकारीहरुलाई विगत २ देखि ३ हप्ताभित्र कोरोनाभाइरसविरुद्ध भ्याक्सिन लगाइएको छ । चीनले आपूर्ति गरेको भ्याक्सिनलाई धन्यवाद’ कजियासनसले अनलाइन आउटलेट नाइन्टिनफोर्टिफाइभको लागि लेखेको एक लेखमा लेखेका छन् । अमेरिकी मेडिकल वैज्ञानिक पिटर जे होटेजलाई उद्धृत गर्दै उनले सिनोभ्याक बायोटेक, क्यान्सिनो बायो र सिनोफार्म ग्रुपसहित कम्तीमा तीन चिनियाँ कम्पनीहरुले कोरोनाभाइरस भ्याक्सिन विकास गरिरहेको उल्लेख गरेका छन् ।

समाचार एजेन्सी रोयटर्सको रिपोर्टअनुसार सिनोफार्मले उसको भ्याक्सिन चीनमा करिब १० लाख मानिसहरुलाई दिएको बताएको छ । तर, यी तीनमध्ये कुनै पनि कम्पनीले फेज ३ ट्रायलको नतिजा सार्वजनिक गरेका छैनन् । उत्तर कोरियाले अहिलेसम्म आफ्नो देशमा कुनै पनि कोरोनाभाइरस संक्रमण केस भेटिएको पुष्टि गरेको छैन । तर, दक्षिण कोरियाको राष्ट्रिय इन्टेलिजेन्स सर्भिसले भने उत्तर कोरियामा संक्रमण भएको कुरालाई अस्वीकार गर्न नसकिने बताएको छ किनकि उत्तर कोरियाको महामारीको स्रोत चीनसँग जनवरीको अन्त्यमा सीमा बन्द गर्नुअघि व्यक्ति व्यक्तिबीच व्यापार हुने गरेको थियो ।

गत महिना माइक्रोसफ्टले ह्याकरहरुले विभिन्न भ्याक्सिन विकासकर्ता कम्पनीको नेटवर्क ह्याक गरेर सूचना चोरीको कोसिस गरेको बताएको थियो । तर, माइक्रोसफ्टले कुन कुन कम्पनीलाई ह्याकरले निशाना बनाएका थिए भन्ने खुलाएको थिएन । स्रोतले रोयटर्सलाई ह्याकरको निशानामा परेका कम्पनीहरुमा बेलायती कम्पनी एस्ट्राजेनेका पनि भएको बताएको छ । एस्ट्राजेनेकाले अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको भ्याक्सिनको ट्रायल र उत्पादनको जिम्मेवारी लिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *