ओली र प्रचण्डबीच भनाभन

डिसी नेपाल
१७ मंसिर २०७७ ८:०६

काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्र पत्राचारबाट शुरु भएको विवाद थप चुलिँदै गएको छ । कार्यकारी अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठकमा पेस गरेको लिखित प्रस्तावका विरुद्ध प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले पनि लिखित जवाफ दिइसकेका छन्।

लिखितरुपमा नै आरोप प्रत्यारोपमा उत्रिएका अध्यक्षद्वय ओली र प्रचण्डबीच फेरि भनाभन भएको छ । ओलीले सचिवालय बैठकमा पेस गरेको लिखित प्रतिवेदनको अध्यक्ष प्रचण्डले प्रतिवाद गरेको बताइएको छ ।

मंगलबार अध्यक्षद्वय ओली र प्रचण्डले ल्याएको फरक÷फरक प्रतिवेदनमा बचाउ गरेका थिए। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठक ओली र प्रचण्डबीच भनाभनबाट शुरु भएको थियो ।

प्रचण्डले ओलीमाथि प्रश्नको वर्षा गर्दै प्रतिवेदन ल्याएपछि ओलीले पनि प्रचण्डको काउन्टरमा प्रतिवेदन सचिवालय बैठकमा पेस गरेपछि दुई अध्यक्षबीच थप विवाद चर्किएको छ ।

दुई अध्यक्षको प्रतिवेदन पार्टीको वैचारिक लाइन, नीति र एजेन्डामा भन्दा पनि व्यक्तिगत र राजनीतिक खिचातानीमा केन्द्रित भएपछि दुवै अध्यक्षले आ–आफ्नो अडान सचिवालय बैठकमा राखेका छन् ।

पार्टीभित्र देखिएको विवाद समाधान गर्न मंगलबार बसेको सचिवालय बैठकमा दुई अध्यक्षबीच निकै चर्काचर्कीरुपमा आरोप प्रत्यारोप चलेपछि अन्य नेताहरुले सम्झाउँदै समाधानको दिशातर्फ जानुपर्ने आग्रह गर्नुपरेको सचिवालयका एक सदस्यले बताए । ती सदस्यले भने– ‘अब पार्टीमा यहाँभन्दा बढी समस्या आउने ठाउँ नै छैन, भिडेर समस्याको समाधान हुँदैन, मिलेर अगाडि बढ्नुहोस् भनेर हामीले भनेका छौं ।’

विगतमा पार्टीभित्र विवाद उत्पन्न हुँदै अध्यक्षद्वयबीच बारम्बार छलफल हुने गरेको थियो । तर गत कात्तिक २५ गतेयता ओली र प्रचण्डबीच एकपटक पनि छुट्टाछुट्टै संवादसमेत हुन सकेको छैन । दुवै अध्यक्षले एकले अर्कालाई गलाउने रणनीति अख्तियार गर्दै प्रतिवेदनलाई प्रतिष्ठाको विषय बनाएको बताइएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *