७८ जना किसानको हत्याको जिम्मेवारी बोको हरामले लियो, हत्याको कारण यस्तो बतायो

डिसी नेपाल
१७ मंसिर २०७७ १०:५१

काठमाडौं। नाइजेरियाको बोर्नो राज्यको क्वाशेबे जबरमरीमा ठूलो संख्यामा किसानहरुको हत्याको जिम्मेवारी आतंकवादी संगठन बोको हरामले लिएको छ । बोको हरामका प्रमुख अबुबकर शेकाउले एक भिडियो जारी गर्दै आफ्नो संगठनले ७८ जना किसानको हत्या गरेको बताएका छन् ।

नाइजेरियाको अखबार डेली ट्रस्टका अनुसार शेकाउले जारी गरेको ३ मिनेटको भिडियोमा आफ्नो संगठनका एक भाइलाई ती किसानहरुले समातेर नाइजेरियाली सेनालाई बुझाएकोले उनीहरुको हत्या गरिएको बताएका छन् । संगठनले आफ्ना सदस्यहरु समात्ने र आफ्ना गतिविधिबारे सेनालाई जानकारी दिनेहरुले यस्तै नतिजा भोग्नुपर्ने चेतावनी पनि दिएको छ ।

यस क्षेत्रमा आक्रमणमा मारिएकाहरुको संख्याको बारेमा भने प्रस्ट जानकारी छैन । सुरुमा यहाँ ४३ जना मारिएको सूचना प्राप्त भएको थियो । तर, नाइजेरियाका लागि संयुक्त राष्ट्रसंघको मानवीयता संयोजक एडवार्ड कालोनले ११० जनाभन्दा बढी मारिएको बताएका थिए भने नाइजेरियाली सेनाले ४३ जना मारिएको बताएको थियो । उता शेकाउले भिडियोमा ७८ जना मारेको भनेका छन् । आइतबार राज्यका गभर्नर बाबागाना जुलुम पनि ४३ जनाको अन्त्येष्टिमा सहभागी भएका थिए ।

जबरमरी क्षेत्रमा उद्धारको काममा सहभागी एक स्थानीयले डेली ट्रस्टसँग कुरा गर्दै धेरैजसो किसानहरु धान खेतमा मारेर फालिएका र उनीहरुको घाँटी रेटिएको पाइएको बताएका छन् । ‘हामीले ४३ वटा लाख भेटेका छौं । आक्रमणकारीहरुले उनीहरु सबैलाई घाँटी रेटेर मारेका थिए’ उनले भने ‘अहिले त्यहाँको समूदायमा ठूलो शोकको स्थिति छ ।’ जबरमरीको धान किसान संघका अध्यक्ष मलम हसनले बालबालिकासहित निर्दोष किसानको हत्याको निन्दा गरेका छन् । उनले पनि बालबालिकासहित ४३ शव भेटेको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *