अस्ट्रेलियाको टापुमा त्यहीँका स्थानीयलाई प्रवेश निषेध ! एसियाली पर्यटकका लागि भने खुला

डिसी नेपाल
१७ मंसिर २०७७ ११:१६

काठमाडौं। अस्ट्रेलियाको एक टापुको केही भाग लिजमा लिएको एक चिनियाँ कम्पनीले त्यो टापुमा त्यहीँका स्थानीय र अस्ट्रेलियाका नागरिकलाई प्रवेश गर्न प्रतिबन्ध लगाएको स्थानीयले दावी गरेका छन् । टापुको थोरै भाग मात्र लिजमा लिएको चिनियाँ कम्पनीले पूरै टापुमा स्थानीयलाई प्रवेशमा रोक लगाएको तथा आसपासको समुद्रमा समेत प्रतिबन्ध लगाएको स्थानीयले आरोप लगाएका छन् । स्थानीयले यो टापुमा केवल पर्यटकलाई मात्र प्रवेश गर्न दिइएको र स्थानीयलाई टेक्न समेत नदिइएको आरोप लगाएका छन् ।

डेलीमेलको रिपोर्टअनुसार चाइना ब्लूम नामको कम्पनीले गत वर्ष अस्ट्रेलियाको केस्विक आइल्याण्डको केही भाग ९९ वर्षको लागि भाडामा लिएको थियो । अहिले स्थानीयले टापुको थोरै भाग भाडामा लिएको कम्पनीले आफूहरुलाई पूरै आइल्याण्डमा प्रतिबन्ध लगाएको आरोप लगाएका छन् । कम्पनीले आइल्याण्डमा सार्वजनिक समुद्रकिनार र पार्क रहेको क्षेत्रमा समेत आफूहरुलाई जान नदिइएको आरोप लगाएका छन् । सार्वजनिक समुद्रकिनार र पार्क क्षेत्र कम्पनीले लिजमा लिएको क्षेत्रभित्र पर्दैनन् ।

यो टापुमा एक घर भाडामा लिएर बसिरहेका दम्पतीलाई तीन दिनको सूचना दिएर घर खाली गर्न भनिएको छ । टापुमा पहिलेदेखि नै बस्दै आएका नागरिकहरुलाई आफ्नो घर एयर बीएनबीको माध्यमबाट भाडामा दिन पनि रोक लगाइएको छ । स्थानीयले यो आइल्याण्ड चिनियाँ कम्युनिस्ट पार्टीको सम्पत्ति भएको आरोप लगाएका छन् । स्थानीयले यो टापु केवल चिनियाँ पर्यटकको लागि रिजर्भ गर्न खोजिएको समेत आरोप लगाएका छन् ।

आइल्याण्डकी पूर्व निवासी जुली विलिसले ती मानिसहरुले अस्ट्रेलियाली नागरिकलाई आइल्याण्डमा देख्न नचाहेको र केवल चिनियाँ पर्यटन बजारको लागि टापुको प्रयोग गर्न चाहेको आरोप लगाएकी छिन् । आइल्याण्डको ठूलो क्षेत्र भने राष्ट्रिय निकुञ्ज हो र अस्ट्रेलिया सरकारको सम्पत्ति हो । चिनियाँ कम्पनीले आइल्याण्डको केवल २० प्रतिशत भाग मात्रै लिजमा लिएको हो । यति हुँदाहुँदै पनि स्थानीयलाई सरकारी पार्कमा जानबाट रोक्नको लागि प्रवेश विन्दू नै बन्द गर्ने प्रयास भइरहेको स्थानीयले आरोप लगाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *