बालिकाले अनलाइन खाना अर्डर गरिन्, घरअगाडि ४२ जना डेलिभरी ब्वायको लाइन लाग्यो

डिसी नेपाल
१८ मंसिर २०७७ १५:१५

काठमाडौं। फिलिपिन्समा अनलाइन खानेकुरा डेलिभरी गर्ने एक मोवाइल एपको गडबडीका कारण निकै रोचक घटना भएको छ । यहाँ एक स्कुले बालिकाले भोक लागेपछि अनलाइन एपबाट एक बक्स चिकेन फिलेट अर्डर गरेकी थिइन् । तर, एपको प्राविधिक गडबडीका कारण त्यो अर्डर छुट्टाछुट्टै अर्डरको रुपमा ४२ जना डेलिभरी ब्वायकहाँ पुग्यो । लगत्तै बालिकाले अर्डर गरेको केहीबेरमै उनको घरअगाडि डेलिभरी ब्वायहरुको लाइन लाग्यो ।

फिलिपिन्सको अखबार सनस्टारका अनुसार फिलिपिन्सको सेबु सिटीकी ७ वर्षकी ती बालिकाले अनलाइन खाना डेलिभरी गर्ने एप फुडपान्डाबाट खाना अर्डर गरेकी थिइन् । त्यसपछि उनी आफ्नी हजुरआमासँग खानेकुरा आउने प्रतिक्षा गरेर बसिन् । त्यसपछि जे भयो त्यो निकै आश्चर्यजनक थियो । केहीबेरमै उनको घरअगाडि डेलिभरी ब्वायहरु खाना लिएर पुग्न थाले । एउटै खानेकुरा लिएर त्यहाँ ठूलो संख्यामा डेलिभरी ब्वायहरुको लाइन लाग्यो ।

हेर्दाहेर्दै कूल ४२ जना डेलभिरी ब्वायहरु त्यहाँ जम्मा भए । कसैले बुझ्न सकेनन् कि त्यहाँ के भइरहेको छ । छिमेकीहरु बाहिरको रमाइलो दृश्य हेर्न बाहिर निस्किए । एक स्थानीयले भिडियो खिचेर सामाजिक संजालमा पोस्ट पनि गरे । बालिकाले १८९ फिलिपिनी पेसो (नेपाली ४६० रुपैयाँ) मूल्य पर्ने खाना अर्डर गरेकी थिइन् तर सबै ४२ जनाले ल्याएको खाना कूल ७ हजार ९३८ पेसो (१९ हजार ४ सय नेपाली रुपैयाँ) बराबरको थियो । समस्या भएपछि बालिकाका छिमेकीहरुले ती खानाका बक्सहरु किनिदिएका थिए । केही डेलिभरी ब्वायहरुले भने सबै छिमेकीले किन्न नसकेपछि खाना साथमै लिएर फर्किएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *