ट्रम्पले वास्ता नगरेपछि जनतालाई भ्याक्सिनबारे विश्वास दिलाउन अगाडि आए ३ पूर्वराष्ट्रपति

डिसी नेपाल
१९ मंसिर २०७७ १०:४७

काठमाडौं। अमेरिकाका तीन पूर्वराष्ट्रपतिहरु बाराक ओबामा, जर्ज डब्लु बुश र बिल क्लिन्टन जनतालाई भ्याक्सिनबारे विश्वास दिलाउने अभियानका लागि अगाडि आएका छन् । यी तीनैजना पूर्व राष्ट्रपतिहरुले अब अमेरिकामा विकसित कोरोनाभाइरस भ्याक्सिन स्वयंसेवक बनेर लगाउनेछन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले जनतालाई भ्याक्सिन लगाउन प्रोत्साहन गर्ने विषयमा कुनै पहल नगरिरहेका बेला पूर्वराष्ट्रपतिहरु अगाडि आएका हुन् ।

भ्याक्सिनको विकास अत्यन्तै छोटो समयमा भएको र भ्याक्सिन विकास गर्ने क्रममा ठूलो राजनीति भएपछि भ्याक्सिनको विषयमा कैयौं आशंकाहरु गरिएका छन् । भ्याक्सिनको विश्वसनीयता संकटमा परेपछि तीन पूर्वराष्ट्रपतिले आफैं भ्याक्सिन लगाएर जनतालाई विश्वास दिलाउने प्रयास गरेका हुन् । फोर्ब्सका अनुसार यी तीन पूर्वराष्ट्रपतिले क्यामेराअगाडि भ्याक्सिन लगाउनेछन् र उनीहरुले भ्याक्सिन लगाउँदै गर्दाको घटनाक्रम प्रत्यक्ष प्रसारण गरिनेछ ।

पूर्वराष्ट्रपतिहरुले भ्याक्सिन लगाउन हिच्किचाहट हुने स्थितिको अन्त्य गर्नको लागि आफ्नो तर्फबाट सक्ने काम गर्ने बताएका छन् । अमेरिकाको फूड एण्ड ड्रग एडमिनिस्ट्रेसनले छिटै कुनै भ्याक्स्निलाई स्वीकृति दिने सम्भावना छ किनकि २ भ्याक्सिनले स्वीकृतिका लागि आवेदन दिइसकेका छन् । एफडिएले स्वीकृति दिनासाथ आम नागरिकलाई भ्याक्सिन लगाउनको लागि उत्प्रेरित गर्न यस्तो गर्न लागिएको पूर्व राष्ट्रपतिहरुले बताउका छन् ।

‘मैले टेलिभिजनमा देखिएर भ्याक्सिन लिनेछु वा त्यो घटनाको भिडियो बनाउनेछु ताकि जनतालाई म विज्ञानमा विश्वास गर्छु तर कोभिड संक्रमित हुन चाहन्न भन्ने जानकारी दिन सकुँ’ बाराक ओबामाले भने । अर्का पूर्व राष्ट्रपति जर्ज डब्लु बुशले अमेरिकाका प्रमुख संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउसी र ह्वाइट हाउस कोभिड–१९ टास्क फोर्सका संयोजक डा. डेबोराह ब्रिक्सलाई भेटेर आफूले खुसीसाथ क्यामेराअगाडि भ्याक्सिन लिन चाहेको बताएको सीएनएनले जनाएको छ ।

उता अर्का पूर्वराष्ट्रपति बिल क्लिन्टनका प्रेस सेक्रेटरीले पूर्वराष्ट्रपति क्लिन्टन पनि क्यामेराअगाडि भ्याक्सिन लिन इच्छुक रहेको र उनले आम अमेरिकी जनतालाई पनि भ्याक्सिन लिन आग्रह गर्ने तयारी गरिरहेको पुष्टि गरेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो समय भ्याक्स्निको स्वीकृति छिटो दिन अधिकारीहरुमाथि दबाब बनाएको र उनले भ्याक्सिनलाई आफ्नो राजनैतिक लाभको लागि निर्वाचनका क्रममा प्रयोग गरेको अवस्थामा उनले जनविश्वास गुमाएको मानिएको छ । यस्तो अवस्थामा पूर्व राष्ट्रपतिहरुले थालेको यो अभियानलाई अर्थपूर्ण रुपमा लिइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *