जन्मिँदै २७ वर्ष उमेरकी बालिका ! आमाभन्दा मात्रै १ वर्ष कान्छी

डिसी नेपाल
१९ मंसिर २०७७ १३:५७

काठमाडौं। मोली गिब्सन जन्मिएको भर्खरै १ महिना नाघ्यो । तर उनी विगत २७ वर्षमा कुनै पनि समय जन्मिन सक्थिन् । उनको भ्रुण अक्टोबर १९९२ मा फ्रिज गरेर राखिएको थियो । भ्रुण गएको फेब्रुअरी महिनासम्म पनि फ्रोजन अवस्थामै थियो । फेब्रुअरीमा टेनेसेका टिना र बेन गिब्सनले उनको भ्रुण ‘एडोप्ट’ गरे । गएको अक्टोबरको अन्त्यमा टिनाले मोलीलाई जन्म दिइन् । पहिलो पटक फ्रिज गरिएको करिब २७ वर्षपछि त्यो भ्रुण अहिले मोलीको रुपमा संसारमा आएको छ ।

मोलीको जन्मले एउटा नयाँ रेकर्ड बनाएको मानिएको छ । यसअघि त्यो रेकर्ड मोलीकी दिदी एम्माको नाममा थियो । सबैभन्दा लामो समयसम्म फ्रिज गरेर राखिएको भ्रुण बच्चाको रुपमा जन्मिएको एम्माको रेकर्ड अहिले मोलीले तोडेकी छिन् । टिनाले दुवै बालिकाको फ्रोजन भ्रुणबाट गर्भवती हुनको लागि अमेरिकाको राष्ट्रिय भ्रुण दान केन्द्रको सहयोग लिएकी थिइन् । नक्सभिलेमा रहेको यो केन्द्रले सन्तान जन्माउन नचाहने दम्पतीका भ्रुणलाई भण्डार गरेर राख्छ । यी भ्रुण लिन चाहनेले लिन सक्छन् । त्यसपछि जन्माउन चाहने महिलाको पाठेघरमा यी भ्रुण राखिन्छ ।

सीएनएनको रिपोर्टअनुसार गिब्सन परिवारकी जेठी छोरी एम्मा नोभेम्बर २०१७ मा जन्मिएकी थिइन् । त्यतिबेला उनले सबैभन्दा लामो समयसम्म फ्रिज गरिएको भ्रुणबाट जन्मिएको बच्चाको रेकर्ड बनाएकी थिइन् । उनको भ्रुण २४ वर्षसम्म फ्रिज गरेर राखिएको थियो । अहिले त्यो रेकर्ड उनकी बहिनी मोलीले तोडेकी छिन् । मोली २७ वर्षसम्म फ्रिज गरेर राखिएको भ्रुणबाट जन्मिएकी बालिका हुन् ।

एम्मा र मोलीले रेकर्ड बनाउनुभन्दा पहिले लामो समयसम्म फ्रिज गरेर राखिएको भ्रुणको प्रभावकारिताबारे कमै मात्र जानकारी थियो । एम्माको भ्रुण लामो समयदेखि फ्रिज गरेर राखिएको थाहा पाएपछि सुरुमा टिना आफू गर्भवती हुन सक्छु कि सक्दिन भन्नेमा चिन्तित थिइन् । तर, केन्द्रका अध्यक्ष तथा मेडिकल डाइरेक्टर डा. जेफरी किननले उनलाई भ्रुणको उमेरले नतिजामा असर नगर्ने कुरामा विश्वस्त बनाए । उनले एक वक्तव्यमा एम्मा र मोलीको जन्मले पुरानो हुँदैमा भ्रुण बिग्रिँदैनन् भन्ने प्रमाण दिएको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *