लुटेराहरुले ४ वटा बैंक लुटेपछि पुलिसको बाटो छेक्न बाटोभरी पैसा छरिदिए

डिसी नेपाल
१९ मंसिर २०७७ १४:५२

काठमाडौं। बैंक लुटेपछि लुटेराहरुले आफूलाई भाग्न सजिलो होस् भन्नका लागि बाटोभरी पैसा छरेर भागेका छन् । ती लुटेराहरुले यसरी पैसा यसकारण छरेका थिए ताकि पैसा टिप्नको लागि सडकमा मानिसहरुको ठूलो भीड होस् र आफूहरुलाई भाग्न सजिलो होस् । उनीहरुले बाटोमा पैसा छरेपछि साँच्चै नै त्यहाँका सर्वसाधारणको ठूलो भीड जम्मा भएको थियो ।

डेलीमेलको रिपोर्टअनुसार यो ठूलो बैंक डकैतीको घटना ब्राजिलको सान्टा क्याटरिना राज्यमा भएको हो । १ डिसेम्बरको राती राइफलसहितका हतियारधारी दुई दर्जनभन्दा धेरै लुटेराहरुले यहाँका ४ वटा बैंक लुटेका थिए । यस क्रममा उनीहरुले करिब ६ जनालाई बन्धक बनाएर राखेका थिए । सबै लुटेराहरुले कालो कपडा लगाएर अबेर रातको समयमा बैंक लुटेका थिए । पुलिस र लुटेराहरुबीच गोली हानाहान पनि भएको थियो ।

गोली हानाहानमा एक पुलिस अधिकारीसहित ३ जना घाइते भएको समाचारमा जनाइएको छ । लुटेराहरुले कति रकम लुटे भन्ने प्रस्ट भएको छैन । स्थानीय ग्लोबो टिभीका अनुसार लुटपाटको घटनामा करिब ३० जना लुटेरा संलग्न थिए र उनीहरु १० वटा कारमा आएका थिए । लुटेराहरुले पुलिस छिटो पुग्न नसकोस भन्नका लागि शहरका कैयौं बाटो बन्द गरिदिएका थिए ।

पछि पुलिसले लुटपाटमा संलग्न रहेको आशंकामा ४ जना संदिग्धलाई पक्राउ गरेको छ । पुलिसले लुटिएको केही रकम पनि बरामद गरेको छ । शहरका मेयर सी साल्धारोले ट्वीटमा धेरै तयारी गरेर आएका लुटेराहरुले लुटपाट गरेको लेखेका छन् । उनले नगरवासीसँग घरभित्रै रहन अपिल गरेका छन् । स्थानीयका अनुसार सडकमा नोटको वर्षा कुनै फिल्मको दृश्य जस्तै थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *