गणतन्त्रकालमा अपहरणमा परेका गंगालाल श्रेष्ठले ल्याए जीवनी भाग–१ पुस्तक

डिसी नेपाल
२२ मंसिर २०७७ १६:४०

काठमाडौँ । काभ्रेका गंगालाल श्रेष्ठले आफूले पाएको यातनाको घटनालाई समेटेर पुस्तक सार्वजनिक गरेका छन् । आज रिपोर्टस क्लब नेपालमा आयोजित कार्यक्रममा उनले राणाकालमा गंगालाल श्रेष्ठले पाएको दुःख, भोगेको पीडा र फाँसीको सजाय पाएको घटनासँग तुलना गर्दै लोकतान्त्रिक गणतन्त्रमा गंगालालले पाएको पीडा समेटेर लेखिएको जीवनी भाग–१ नामको पुस्तक पञ्चकन्याबाट सार्वजनिक गरेका हुन् ।

कृतिमा राणाशासनमा सहिद गंगालाल श्रेष्ठले पाएको पीडा र लोकतान्त्रिक गणतन्त्रका योद्धा गंगालाल श्रेष्ठले पाएको दुःख, भोगेको पीडा र पटक पटक झण्डै ज्यान गुमाउनुपरेकोमा घटनाको तुलना गरिएको छ ।

कृतिमा गंगालालले आफूमाथि भएको षड्यन्त्रको खुलासा गरेका छन् । काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ४ फेदीका गंगालाल श्रेष्ठ २०७७ साल भदौ २९ गते अपहरणमा पर्छन् । श्रेष्ठलाई ज्यान मार्ने धम्की मात्रै दिएनन् अपहरण नै गरे । यो सब गर्ने व्यक्ति हुन् सिन्धुलीको भरत लामा ।

“व्यवसायिक रुपमा सहकार्य गरेका लामाले नै प्रशस्तै यातना दिएका थिए । २९ गते अपहरण गरे । श्रीमती घरमै रोएर बसिन् । मेरो तीन पुस्तालाई नै सखाप पार्ने धम्की दिइयो,” पुस्तक सार्वजनिक कार्यक्रममा श्रेष्ठले भने ।

अपहरणपछि न्याय खोज्न जाँदा सबै निकायमा अपहरणकारीकै पहुँचका कारण अन्यायमा परेको उनको गुनासो छ । घटनाको सम्पूर्ण विवरण पुस्तकमा उल्लेख गरिएको छ । घटना विवरणको बाँकी अंश भाग दुईमा उल्लेख गर्ने उनले बताए ।

“किताबमा लेखिएको सबै कुरा सत्य हुन् । एउटा मात्रै झुट भए म जस्तोसुकै सजायँ भोग्न तयार छु,” श्रेष्ठले भने । उक्त पुस्तकलाई लेखक श्रेष्ठले जीवनी भाग १ भनेका छन् ।

किताबमा राणाकालमा शहिद बनाइएका गंगालाल श्रेष्ठले पाएको यातनासँग काभ्रेका गंगालालले पाएको यातनालाई जोडेर तुलना गरिएको छ । पुस्तक निःशुल्क वितरण गर्ने लेखक श्रेष्ठले बताए । नमस्ते नेपाल प्रेस प्रालिबाट पुस्तक छपाई गरिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *