१० प्रतिशत नेपाली कोरोना संक्रमित !

डिसी नेपाल
२६ मंसिर २०७७ १६:३९

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म नेपालमा कोरोना भाइसरबाट संक्रमित हुने नेपालीहरुको संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ। शुक्रबार सार्वजनिक पछिल्लो २४ घण्टाको तथ्यांकअनुसार १ हजार ४४ जना नयाँ संक्रमित थपिएका छन्। र हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय ७४ पुगेको छ।

यो सरकारको आधारिक तथ्यांक हो। तर, सरकारले गरेको एक अध्ययनले भने नेपालमा कोरोना संक्रमण समूदायमा फैलिएको पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य संगठनसँग मिलेर गरेको ‘सेरो प्रिभिलेन्स सर्वेक्षण’ अनुसार १० प्रतिशत नेपाली संक्रमित भइसकेका छन्।

भदौ र असोजमा गरिएको यो सर्वेक्षणमा घरमै बसेका मानिसहरुको नमुना संकलन गरिएको थियो। जस मध्ये १० प्रतिशतको नमुनामा कोरोना भाइरसविरुद्धको एन्टीबडी फेला परेको छ। महाशाखाले यो सर्वेक्षण प्रतिवेदन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुझाइसकेको छ। महाशाखा स्रोतका अनुसार देशका ७५ वटा जिल्लाबाट विभिन्न उमेर समूह र लिंगका ३ हजार २ सय घरमै बसेका मानिसहरुको नमुना संकलन गरेर यो सर्वेक्षण गरिएको थियो।

जसमा १० प्रतिशत नमुनामा एन्टीबडी फेला परेको छ। यो सर्वेक्षणअनुसार नेपालको जनसंख्या ३ करोड मान्दा करिब ३० लाख नेपाली संक्रमित भइसकेको प्रोजेक्शन गरिएको छ।

सो सर्वेक्षणले कोरोना संक्रमण समूदायमा फैलिसकेकोसमेत देखाएको अध्ययनमा सहभागी भएका अधिकारीले बताए। मन्त्रालयले प्रतिवेदन सार्वजनिक गरेपछि यो विषयमा थप प्रष्टपार्न सकिने उनको भनाई छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी गणेश श्रीवास्तावले महाशाखाको प्रतिवेदन मन्त्रालयमा प्राप्त भएको पुष्टि गरे। उनले डिसी नेपालसँग भने, ‘प्रतिवेदन आइसकेको छ। अध्ययन हुँदैछ। केही दिनमा प्रतिवेदन सार्वजनिक गर्ने तयारी छ।’

सर्वेक्षणअनुसार घनावस्ती भएका जिल्लाहरुको नमुनामा एन्टीबडी पोजेटिभ दर उच्च छ भने हिमाली जिल्लाहरुमा निकै कम रहेको छ। तराईका जिल्लाहरुमा पनि पोजेटिभ दर उच्च रहेको छ। यो सर्वेक्षणअनुसार घरमै बसेका धेरै नेपालीले आफूलाई कोरोना भएर पनि थाहा नै नपाई जितिसकेको देखिएको छ। कोरोना संक्रमणमा कसैलाई लक्षण देखिने र कसैलाई लक्षण नदेखिने भएकाले लक्षण नदेखिएका संक्रमितहरुले घरमै कोरोना जितेको यो सर्वेक्षणले पुष्टि गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *