कांग्रेस नेतृत्वले मुद्दा तय गर्न नसक्दा गुमाएकाे ठूलाे अवसर – Dcnepal

कांग्रेस नेतृत्वले मुद्दा तय गर्न नसक्दा गुमाएकाे ठूलाे अवसर

नेपाली कांग्रेसलाई पार्टीको स्थापनाकाल २००४ देखि नै नेपाली जनताले लोकतन्त्रका लागि भरपर्दो राजनीतिक शक्तिका रुपमा मान्दै आएका हुन्। उनलाई मान्नुको औचित्य पनि नेपाली कांग्रेसले स्थापनाकालदेखि नै विभिन्न रुपमा पुष्टि गर्दै आइरहेको थियो।

जनताको अधिकारको पक्षमा, जनताको रोजीरोटीको पक्षमा, जनताको स्वतन्त्रताको पक्षमा, जनप्रनिनिधिको शासनको पक्षमा निरन्तर रुपमा सक्रिय नेपाली कांग्रेसले राजनीतिक रुपले राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा आफ्नो एउटा अलग्गै र विशिष्ट राजनीतिक पहिचान बनाएको छ।

राष्ट्रिय हित र सर्वाभौमसत्ताको रक्षा गर्ने राजनीतिक शक्तिको रुपमा कहलिएको राजनीतिक शक्ति आज कमजोर हुँदै गएको सत्य हो। केही दिनअघि सत्ता पक्ष नेकपाका नेताहरुले विशेष गरी प्रधानमन्त्रीले कांग्रेस कहाँ छ, कहाँ गयो कांग्रेस? भन्नु भएको थियो। कांग्रेसले यसको जवाफमा देशमा आफ्नो प्रस्ट उपस्थिति देखाउन सक्नु पर्ने थियो। तर त्यसो हुन सकेन।

कांग्रेसका नेताहरु एकअर्कासँग मिलेर एकै ठाउँमा बस्न नसक्नु, सबै नेताले आ–आफ्नै गुट सञ्चालन गर्नु र निरन्तर कांग्रेसको सिद्धान्तको निर्धारित घेरा र सीमाभित्र बस्न नसक्नु कांग्रेसको प्रमुख समस्या हो।

कांग्रेसको एउटा निश्चित सिद्धान्त छ र त्यो सिद्धान्तको लहरोमा शीर्ष नेतादेखि तल्लो तहका कार्यकर्तासम्म समेटिन सक्नुपर्ने थियो तर त्यसो हुन नसक्नु मुलुक र प्रजातान्त्रिक पक्षधर जनताका लागि दुर्भाग्य हो।

आफ्नो साथमा जनता आउँदा पनि उनीहरुलाई सही दिशा देखाउन नसकेको स्थितिमा कांग्रेसका नेता र सभापति अलमलिएको बुझ्न गाह्रो छैन। यसले कांग्रेसले नै बाटो बिराएको अवस्था प्रमाणित भयो। त्यसो गर्नु कांग्रेसका लागि जायज र सुहाउँदो विषय भएन।

यसो भन्दै गर्दा हालसालै कांग्रेसको आह्वानमा सरकारका गतिविधिको विरोध गर्न तय गरिएको विरोध सभा र नारा जुलुसमा जनताको राम्रो सहभागिता देखिनु सकारात्मक कुरा हो। यो विश्वव्यापी महामारी कोभिडका बीचमा पनि यत्तिको ठूलो जनसहभागिता देखिनु कांग्रेसलाई जनताको समर्थन यथावत कायम रहेछ भन्ने संकेतका रुपमा लिनुपर्छ।

तर नेताले यी जनता किन सडकमा उतारे वा विरोध सभा गरे भन्ने विषयको जायज मुद्दा जनसमक्ष लैजान सकेनन्। कांग्रेसको नेतृत्वले मुद्दा तय गर्न सकेनन्। एउटा नेताले धनगढीमा एउटा कुरा बोल्ने, अर्को नेताले बिराटनगरमा अर्को कुरा बोल्ने, पार्टी सभापतिले एउटा कुरा बोल्ने अर्को नेताले अर्कै कुरा बोल्ने? के रामचन्द्र पौडेललाई निषेधित अवस्थाको पुल उद्घाटन गर्नु मात्रै मुद्दा थियो त?

एउटा अर्को सत्य त यो पनि हो कि यो विरोध कार्यक्रममा यति ठूलो जनसहभागिता हुनु नेपाली कांग्रेसप्रतिको मोह मात्रै होइन सरकारप्रतिको वितृष्णा पनि हो। सरकारबाटै अपेक्षित काम हुन नसकेको स्थितिमा जनताले थोरै मात्र पनि राहतको अनुभूति गर्न पाइन्छ कि भनेर कांग्रेसको विरोध कार्यक्रममा सहभागी भएका हुन्।

त्यतिबेला कांग्रेसले जनतालाई सही रुपमा अबको राजनैतिक एजेण्डा दिन सकेको भए र त्यो एजेण्डा देशको लागि किन जरुरी छ भनेर बुझाउन सकेको भए त्यो जनलहर अवश्य पनि कांग्रेसको पक्षमा पर्ने थियो। तर, सरकारप्रति वितृष्णा उब्जिएर कांग्रेसतिर गएका जनतालाई कांग्रेसले पनि सही दिशानिर्देश गर्न नसकेको अवस्थामा त्यो जनलहर तेस्रो विकल्पको खोजीतर्फ नलाग्ला भन्न पनि सकिँदैन।

आफ्नो साथमा जनता आउँदा पनि उनीहरुलाई सही दिशा देखाउन नसकेको स्थितिमा कांग्रेसका नेता र सभापति अलमलिएको बुझ्न गाह्रो छैन। यसले कांग्रेसले नै बाटो बिराएको अवस्था प्रमाणित भयो। त्यसो गर्नु कांग्रेसका लागि जायज र सुहाउँदो विषय भएन।

खासमा त्यतिबेला के गर्नु पथ्र्यो भने कांग्रेस केन्द्रीय कार्यसमितिबाट एउटा समिति निर्माण गरेर अहिलेका समसामयिक विषयहरुमा मुलुक र जनताको पक्षमा प्रतिपक्षले निर्वाह गर्नुपर्ने भूमिका के हुन सक्छ? आम जनताको पक्षमा कांग्रेसले के गर्नुपर्छ र गर्न सकिन्छ? सरकारले के गर्नुपथ्र्यो, के गरेन, नेकपाको सरकारले के गलत ग-याे?

यी आम जनताका सरकोकारका विषय सम्बन्धित विशेषज्ञहरुसँग समन्वय गरेर समितिले सुझाव दिने र केन्द्रीय कार्यसमतिले मुद्दा तय गर्ने, त्यसमाथि निर्णय गर्ने र सबै नेताले देशभर जनसमक्ष तिनै मुद्दा लिएर जाने रणनीति हुनुपर्ने थियो। निश्चित राजनैतिक मुद्दा लिएर जनतासमक्ष जाने, जनताको साथ खोज्ने, जनतालाई ती मुद्दा किन देशका लागि जरुरी छन् र जनताले ती मुद्दामा किन कांग्रेसलाई साथ दिनुपर्छ भन्ने कुरा बुझाउने।

सरकारलाई सच्चिन मौका दिने र सच्चिन लगाउने, सरकारलाई सही बाटोमा हिँड्न दबाव दिने र सरकारलाई संसदप्रति उत्तरदायी बनाउन र सरकारका कमीकमजोरी सच्याउन र नसच्चिए प्रधानमन्त्रीलाई संसदको कठघरामा उभ्याउन प्रतिपक्षको भूमिका रहनुपथ्र्यो र गर्नुपर्ने थियो। साथै कांग्रेसले एक्लै होइन आफूसँग विचार मिल्ने, विचार नमिले पनि मुद्दा मिल्ने, जनहितको पक्षमा काम गर्ने, ससाना दलहरुलाई समेटेर मुलुकको हितमा सशक्त रुपमा जनसमक्ष आफूलाई उभ्याउन सक्नुपथ्र्यो। काग्रेसका सभापति ज्यादै कमजोर हुनु भयो।

प्रधानमन्त्रीको हप्की धम्कीपछि उहाँ तर्सिनु भयो। र प्रधानमन्त्रीको आग्रह अनुरोध र मोलमोलाईमा उहाँ अल्झिनु भयो। कांग्रेसको यो दुर्दशा हुनुमा नेतृत्वको कमजोरी मान्नुपर्छ।

नेपाली कांग्रेसका शुभेच्छुक आम जनताहरुले अहिलेको परिस्थितिको भोगाइ र मूल्याकंनबाट आगामी १४ औं महाधिवेशनमा पक्कै पनि सुझबुझ राख्ने मुलुक र जनताको हितमा अग्रसर हुने सशक्त कांग्रेसको राजनीतिक सिद्धान्त र धारलाई समातेर मुलुकलाई कानुन र संविधानको मर्म भावना र कार्यान्वयन सही ढंगले गर्न सक्ने नेतृत्व काग्रेसका कार्यकर्ताले निर्वाचित गरेर सभापतिमा आसिन गर्ने र मुलुकले लोकतन्त्र कानुनको शासन, स्वतन्त्र र समक्ष न्यायपालिका समग्रमा विधिको शसन र जनहितमा कांग्रेसको नेतृत्वबाट काम हुन सक्ने अपेक्षा गर्न सक्नेछन्।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो