गहुँका लागि पर्याप्त मल

रासस
८ पुष २०७७ १७:२२

विराटनगर । गहुँबालीलाई आवश्यक पर्ने रासायनिक मल युरिया प्रदेश नं १ का लागि पर्याप्त रहेको छ । कार्यालयमा अहिले एक हजार २६६ मेट्रिक टक युरिया, एक हजार ३४३ मेट्रिक टन डिएपी मल र एक हजार ३८८ मेट्रिक टन पोटास मौज्दात छ ।

केही दिनभित्रै एक हजार मेट्रिक टन युरिया आइपुग्ने कृषि सामग्री कम्पनी लिमिटेड विराटनगरका कार्यालय प्रमुख नवरत्न गौतमले बताए ।
यस वर्ष पहाडी जिल्ला ओखलढुङ्गामा पनि सेवा विस्तार गर्नुपर्ने भएकाले लहान कार्यालयबाट मल उपलब्ध गराइने जनाइएको छ । कार्यालयले पूर्वी क्षेत्रमा सुनसरीको इटहरी, धनकुटा, इलाम, झापाको बिर्तामोड र उदयपुरको गाईघाटबाट किसानलाई मल उलब्ध गराइरहेको छ ।

यसैगरी साल्ट ट्रेडिङ कम्पनी लिमिटेड विराटनगरमा अहिले चार हजार ३५० मेट्रिक टन युरिया र तीन हजार मेट्रिक टन डिएपी मौज्दात रहेको लिमिटेडका प्रमुख राधेश्याम चौधरीले जानकारी दिए । उनले निकट भविष्यमै पाँच हजार मेट्रिक टन डिएपी, दुई हजार ५०० मेट्रिक टन पोटास र सात हजार मेट्रिक टन युरिया आउने निश्चित रहेकाले कुनै पनि किसानले गहुँमा मल हाल्न पाइन भन्ने अवस्था नरहने ठोकुवा गरे ।

गहुँलाई चाहिने मल पर्याप्त रहेको तथा अहिलेको मौज्दात तथा मल आउने क्रम जारी रहेकाले केही समयपछि यस क्षेत्रमा लगाइने गर्मा धानका लागि पनि पाइने प्रमुख चौधरीले जानकारी दिए ।

अहिले ५० केजी युरिया मलको मूल्य रु ७५० र ५० केजी डिएपी मलको मूल्य रु दुई हजार २०० छ । सरकारको मातहतका कार्यालयबाट वितरण हुने मलले नै किसानको खेतबारीलाई राम्रो गर्ने भएकाले भारतबाट गुणस्तरहीन मल ल्याउन नहुने कृषिविज्ञ बताउँछन् ।

यस वर्ष समयमै रासायनिक मल किसानले पर्याप्त मात्रामा नपाएकाले भारतबाट अवैध रुपमा भित्र्याइएको छ । यसबाट किसानको खेत पनि बिग्रिने र बालीमा रोग र कीराको प्रकोप बढ्ने चेतावनी दिइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *