तौल र गुणस्तरमा ठगिँदै उपभोक्ता

डिसी नेपाल
९ पुष २०७७ १७:१४

महोत्तरी । “बजारबाट ल्याएको कुनै सामान घर ल्याएर जाँच्दा पुग्दैन”, महोत्तरीको भङ्गाहा नगरपालिका–४ की गृहिणी रामसागर देवीको गुनासो छ । जिल्लाका गाउँनगर बस्तीका बजार र पसलमा परम्परागत ढक र तराजुको प्रयोग नहट्दा रामसागर देवीजस्ता अधिकांश गृहिणी र बजारु उपभोक्ता तौलमा ठगिँदै आएका छन् । बजार अनुगमन नहुँदा तौलमा मात्र नभएर वस्तुको गुणस्तरमा समेत ठगिँदै आइएको आम उपभोक्ताको गुनासो छ ।

खासगरी साप्ताहिक हाट (साताका निश्चित दिन र ठाउँमा लाग्ने हाटबजार) मा काठे तराजु र ढुङ्गे ढकको प्रयोग बाक्लो छ । किराना दैनिक प्रयोजनका वस्तु र तरकारी किन्दा तौलमा ठगिने गरिएको उपभोक्ताको गुनासो छ । बजारबाट किनेर ल्याइएको चिनी, चामल, पिठोलगायत दैनिक प्रयोजनका सामान र तरकारी घरमा ल्याएर तौलँदा सधैँ घट्ने गरेको भङ्गाहा–४ कै गृहिणी गुनाज खातुन बताउँछन् । साप्ताहिक हटियामा तरकारी बेच्न त ढुङ्गे ढक र परम्परागत तराजु नै वर्षौँदेखि प्रयोग हुँदै आएको खातुनको थप गुनासो छ । किनेर ल्याइएका खानेतेल, चामल, पिठो, मैदा र धुलो मसलासहित खाद्यवस्तु त राम्रो भनेर ल्याइने गरिए पनि बेस्वादको हुने गरेको उपभोक्ता बताउँछन् ।

बजार क्षेत्र र गाउँनगर बस्तीका स्थायी पसलमा फलामको ढक प्रयोग गर्ने व्यापारी भेटिए पनि तिनले प्रयोग गर्ने ढक पनि अप्रमाणिक र कम तौलको हुने गरेको जिल्लाकै बर्दिवास नरपालिका–९ पशुपतिनगरकी गृहिणी दिपियादेवी महतोले बताइन् । यसरी परम्परागत तराजु र ढुङ्गे ढकको तौलले सामान लिनुपर्दा एक किलोग्राममा २०० ग्रामसम्म कम हुने गरेको उपभोक्ताको गुनासो छ ।

बजार र पसलमा नापतौल र वस्तुको गुणस्तर अनुगमन गर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जलेश्वर, स्थानीय प्रशासन, जिल्लाका उद्योग वाणिज्य सङ्घ र स्थानीय तहले यसप्रति चासो नदेखाएकाले उपभोक्ता ठगिने क्रम नरोकिएको सामाजिक, राजनीतिक कार्यकर्ताहरुको गुनासो छ । प्रचलित कानूनी व्यवस्थाअनुसार अनुगमन गर्ने अधिकार र दायित्व पाएका अधिकारी, सङ्घसंस्था र निकायको उदासिनताले बजारमा बेथिति बढेको नेपाली काँग्रेस बर्दिवास नगर समितिका सचिव युवराज पोखरेल बताउँछन् ।

खासमा प्रत्येक स्थानीय तहमा नगरपालिकाका उपप्रमुख र गाउँपालिकाका उपाध्यक्षको संयोजकत्वमा बजार अनुगमन समिति भए पनि कामबारे चासो नदेखिँदा बजारको बेथिति बढेको आम उपभोक्ता बताउँछन् । धेरैजसो स्थानीय तहमा यो समिति नै नबनेको र बनेका केही ठाउँमा पनि वर्षको एकाध पटक चाडपर्वको मुखमा बजार डुलेर झारा टार्ने गरेका गौशाला–८ की गृहिणी रीता उपाध्याय बताउँछिन् ।

यता बर्दिवास उद्योग वाणिज्य सङ्घले नापतौलका लागि प्रमाणिक ढक, तराजु वितरणका लागि जिल्ला प्रशासन कार्यालय र खाद्यप्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जलेश्वरसँग समन्वय गरेर प्रामाणिक ढक, तराजु लिन व्यापारीलाई आग्रह गरे पनि अपेक्षित सङ्ख्याका व्यापारी सम्पर्कमा नआएका जनाएको छ । प्रामाणिक ढक, तराजु किन्न आग्रह गर्दा पनि सम्बन्धित व्यापारीले ध्यान नदिएकाले अब स्थानीय प्रशासनको समन्वयमा बजार अनुगमन गरी कारवाही बढाइने सङ्घका महासचिव भवनाथ खतिवडाको भनाइ छ ।

जिल्लामा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भए पनि सो कार्यालय सदरमुकाम जलेश्वरभन्दा बाहिर निस्कन नसकेको आम गुनासो छ । जलेश्वरमै पनि दशैँ, तिहार र छठपर्वताका दुई/चारवटा पसल पुग्नेबाहेक उपभोक्ताले सुधार महसुस गर्ने गरी अनुगमन नभएको जलेश्वर–१ का सामाजिक कार्यकर्ता विनोद पासवान बताउँछन् ।

यता बर्दिवास नगरपालिकाका उपप्रमुख कृष्णमाया गौतमले समय–समयमा बजार, हाट र स्थायी पसलमा विभिन्न निकायको समन्वयमा वस्तुको गुणस्तर र नापतौलको अवस्थाबारे अनुगमन गरिँदै आइएको बताएका छन् । जनशक्तिको अवस्था र अन्य सरोकारवाला निकायसँग समन्वय गरेर अनुगमन गरिने भएकाले जिल्लाका सबै बजारमा भने पुग्न नसकिएको गौतमको स्वीकारोक्ति छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *