न्याय दिनेहरु नै न्याय माग्दै माइतीघर मण्डलामा

तर्कबहादुर थापा
१० पुष २०७७ १५:३८

काठमाडौं। मिति : पुष १० गते शुक्रबार, स्थान : माइतीघर मण्डला, काठमाडौं। समय : विहान १० बजे।

अन्यायमा परेकालाई न्याय दिलाउने माइतीघरमण्डलाको दृष्य फरक थियो। सधैं न्यायका लागि अपिल गर्ने ठाउँ बनेको माइतीघर मण्डलामा फरक अनुहार न्याय माग्दै गरेको देखिन्थ्यो।

त्यहाँ उखु किसान न्याय माग्दै दैनिक प्रदर्शन गरिरहेका छन्। अहिलेसम्म उनीहरुले न्याय पाएका छैनन्। तर उनीहरुलाई न्याय दिने ठाउँमा बसेका नेताहरुले शुक्रबार विहान माइतीघर मण्डला कब्जा गरे अनि नाराजुलुस गर्न थाले।

कठाग्रिंगो पुसको जाडो महिनाको विहानै मुलुकका तीन जना  प्रधानमन्त्री भइसकेका र निर्वतमान मन्त्री र सांसदहरु पनि न्याय माग्दै माइतीघरमण्डलामा प्रदर्शन गरिरहेका थिए।

चिसो सडकमा तीनजना पूर्व प्रधानमन्त्रीहरु, पँलेटी कसेर बसेको थिए। छातिमा लेखिएको थियो ‘हामी यहाँ छौं।’ सधैजसो बाक्लो सोफामा देखिने तीन जना पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल (प्रचण्ड), माधवकुमार नेपाल र झलनाथ खनालले पीच गरेको सडकमा थचक्क बसेको देख्दा धेरैले आक्रोश पनि पोखे।

कतिपयले आखिर सडकमै पुगे है सम्म भन्न भ्याए। गुलियो उखु किसानका नुनिला आशुँले सिजेको माइतीघरको छेउछाउको दुबोमा लहरै प्रहरी तैनाथ थिए। आन्दोलनकारी र प्रहरीले घेरो लगाई सडकमा बसेका नेताहरुले आन्दोलनको उद्घोष गर्दै थिए।

अनि युवाहरुको आवाजमा नारा घन्कियो, ‘अरु हामी जान्दैनौं, संसद विघटन मान्दैनौं।’ पार्टीका अलग–अलग गुटहरुका भेला भए, नेता छुटिए एउटै पार्टीका नेताहरु विभाजन भए र माइतीघर मण्डलाको चिसो सडकमा देखिए। सडक सुनसान पारेर अगाडि पछाडि साइरन बजाउँदै गाडीमा सवार हुने सुरक्षाकर्मीमात्र पैदल हिडेनन्, ती साइरन बजाउने गाडीका बीचमा हुइँकिने चिल्ला कार भित्रका प्रचण्ड, नेपाल र खनाल पनि पैदलनै हिँडे।

माइतीघर मण्डलाबाट सुरु भएको उनीहरुको यात्राले निर्वाचन आयोगलाई गन्तव्य बनायो र पूरा गर्यो पनि। सडकभरी जिन्दावाद र मुर्दावादका नारा घन्किरहेका बेला छेउमै बसेका सडक मानवहरुलाई केही फरक परेको थिएन। उनीहरुको अनुहारमा हेर्दा यस्तो लाग्थ्यो नेपालमा हुने आन्दोलन उनीहरुका लागि हैन। उनीहरुका लागि हो जो सहभागी थिए।

नेकपाको प्रचण्ड–नेपाल समूहले अध्यक्ष बनाएका माधवकुमार नेपाल र प्रधानमन्त्रीको लागि तयार भएका प्रचण्ड सडकमा पैदल हिडिरहँदा छेउतिर बसेकालाई खाना खान भ्याइ नभ्याइ थियो। ‘नेताहरु कुर्सीका लागि सडकमा हिँड्दा रहेछन्,’ माहांकाल मन्दिरका बाहिर बसेका वृद्धाहरु भन्दै थिए, ‘यो नेपालको राजनीति उनीहरुलाई नै सोध्नुहोस्, हामीलाई के थाहा।’

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि औपचारिक रुपमा दुई समूहका विभाजित बनेको नेकपाको प्रचण्ड–नेपाल समूहले आफू आधिकारिक भएको दाबीसहित शुक्रबार निर्वाचन आयोगमा ज्ञापत्र पत्र बुझाएको छ।

प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक र प्रतिगमन भन्दै प्रचण्ड–नेपाल समूहका नेताहरु शुक्रबार विहानै माइतीघर मण्डलामा भेला भएर नाराबाजी गर्दै निर्वाचन आयोग पुगेका थिए। आयोगमा उनीहरुले आफूहरुसँग बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर रहेको र आफू नै आधिकारिक भएको दाबी गरेका छन्।

सो अवसरमा प्रमुख आयुक्त थपलियाले संविधान र निर्वाचनसम्वन्धी कानूनमा व्यवस्था भएअनुुरुप विवाद निरुपणको प्रक्रिया प्रारम्भ हुने जानकारी दिए। उनले भने, “विधान, स्थापित नजीर र प्रचलित कानूनका आधार आधारमा ऐनले दिएको अधिकार क्षेत्रभित्र रही अत्यन्तै न्याय हुने ढङ्गबाट आयोगले न्याय निरुपण गर्नेछ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *