प्रदेश १ को लगातार दोस्रो जित
दाङ। प्रदेश १ ले दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। प्रतियोगितामा लगातार दोस्रो जित हासिल गर्ने क्रममा प्रदेश १ ले बुधबार दिनको पहिलो खेलमा सुदुर पश्चिमलाई ५ विकेटले पराजित गर्यो।
खेलमा सुदुर पश्चिमले प्रस्तुत गरेको ५४ रनको सामान्य लक्ष्यलाई प्रदेश १ ले १५.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। टिमले संघर्षमय जित हासिल गर्ने क्रममा कप्तान रुविना क्षेत्रीले १२ रन र अप्सरी बेगमले ९ रन बनाइन्। भने निग्मा तामाङले अविजित रहदै ७ रनको योगदान गरिन्।
बलिङतर्फ सुदुर पश्चिमका लागि दिपा जोराले २ तथा कविता कुवँर र कविता जोशीले १–१ विकेट लिएका थिए।
त्यसअघि देउखुरी क्रिकेट मैदानमा खराब मौसमका कारण १६ ओभरमा घटाईएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदुर पश्चिमले निर्धारित पूरै ओभर खेल्दै ८ विकेट गुमाएर ५३ रन बनाएको थियो।
सुरुवात देखि खराब ब्याटिङ गरेको सुदुर पश्चिमका लागि कविता जोशीले बाहेक अन्य खेलाडीले दोहोरो अंक समेत जोड्न सकेनन्।
टिमका लागि सर्वाधिक ठूलो पारी खेलेकी उनले अविजित रहदै १४ रन बनाइन्। भने ओपनर ब्याटर रेवती धामीले ८ रन र लक्ष्मी साउदले अविजित रहदै ९ रनको योगदान गरिन्।
बलिङतर्फ प्रदेश १ का लागि संगिता राईले उत्कृष्ट बलिङ गरिन्। आफ्नो स्पेलको ४ ओभर पूरै बलिङ गरेकी उनले मात्र १० रन खर्चिएर ३ विकेट हात पारिन्। यस्तै शबनम राईले २ विकेट लिदा कप्तान रुविना क्षेत्री र निग्मा तामाङ पनि १–१ विकेट हात पारेका थिए।
यसअघि समूह बी मा रहेको प्रदेश १ ले पहिलो खेलमा बागमतीलाई ४६ रनले पराजित गरेको थियो। भने सुदुर पश्चिमको यो पहिलो हार हो। सुदुर पश्चिमले पहिलो खेलमा गण्डकी प्रदेशलाई ५९ रनले पराजित गरेको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment