विदेशमा कोरोनाबाट थप तीनको मृत्यु
काठमाडौं। कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट विदेशमा थप तीन जना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार यो साता यूकेमा एक जना र पोर्चुगलमा दुई जना गरी तीन जनाको मृत्यु भएको हो।
एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै २० वटा देशमा गरी कोरोना भाइरसबाट निधन हुने नेपालीको कूल संख्या तीन सय १५ पुगेको छ। संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार ३ सय ८५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ। ती मध्ये ५० हजार ६ सय ५६ जना कोरोना मुक्त भएका छन्। यो कूल संक्रमितको ९४ प्रतिशत हो।
यो साता स्पेन, पोल्याण्ड, जापान, यूएई, कुवेत, साउदी अरब, कतारमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ। त्यस्तै, कोरोना भाइरसका कारण नेपालमा एक हजार आठ सय ७० जनाको निधन भएको छ। नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या दुई लाख ६१ हजार चार सय ३८ छ भने दुई लाख ५३ हजार आठ सय ५७ जना अर्थात् ९७.१ प्रतिशत कोरोनाबाट मुक्त भएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment